एनआरएन जर्मनी फुटबल कप हुँदै

एलसीसी एनआरडब्लु र एनआरएनए जर्मनीको संयुक्त आयोजनामा आगामी अक्टोबर ३ तारिखमा एनआरएनए जर्मनी फुटबल कप २०१८ एलसीसी एनआरडब्लु आयोजना हुँदै छ । प्रतियोगिताका लागि आयोजक तदर्थ समिति गठन गरिएको एनआरएनए जर्मनीका अध्यक्ष विजय मोक्तानले जानकारी दिएका छन् ।
उनका अनुसार फुटबल कार्यक्रमको संयोजकमा एनआरएनए जर्मनी एलसीसी एनआरडब्लुका संयोजक दीपक लामालाई तोकिएको छ । हालसम्म एनएफटी मुन्चेन, एफसी युनियन बर्लिन नेपाल, एनआरएनए एलसीसी एनआरडब्लु फुटबल टिम, नेपाल डर्मस्टड फुटबल क्लब, बोक्ले फुटबल टिम, एलसीसी ब्रेमन हनोभर टिम दर्ता भइसकेका छन् । टिम दर्ता मिति २९ सेप्टेम्बरसम्मका लागि थप गरिएको एनआरएनए जर्मनीले जनाएको छ ।
जर्मनीमा रहेका नेपाली युवा, विद्यार्थी, महिला विशेषगरी दोस्रो पुस्ताका लागि खेलका माध्यमबाट उत्साहित र उत्प्रेरित गर्न उत्सवका रूपमा प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाइएको छ । सन् २०१२ मा बोखुमबाट प्रतियोगिता सुरु भएको थियो । पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई नगद पुरस्कार अनि कपदेखि लिएर उत्कृष्ट खेलाडी, गोलकिपर, म्यान अफ द म्याचलाई गोल्डन बुटलगायत दिइने जनाइएको छ ।

Comment