मिष्टर काठमाण्डौ शारीरिक सुगठन शुक्रबार देखि

काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा तेश्रो जिल्लाब्यापी मिष्टर काठमाण्डौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता शुक्रबार र शनीबार हुने भएको छ । करिब ३०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी भै सकेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको पहिलो दिन २२ गते शुक्रबा १२ बजेबाट नक्साल ब्याङ्कवेटमा प्रिजजिङ्ग चरण र दोश्रो दिन २३ गते शनिबार राष्ट्रिय नाच घरमा २ बजेबाट फाईनल चरणको प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा तेश्रो मि. काठमाण्डौ प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथी गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको पहिलो दिन प्रिजजिङ्ग राउण्डबाट प्रत्येक वजन समूहका खेलाडीहरु बिच प्रतिस्पर्धा गराई ५ जना खेलाडीहरुलाई फाईनल चरणमा छनौट गरिने छ । जसमा पहिलो दोश्रो तथा तेश्रो हुने खेलाडीहरुलाई पदक प्रमाण पत्रका साथै नगद १०, ५ र ३ हजार प्रदान गरिने छ । यस्तै चौथो तथा पाँचौले ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यसै गरि महिला एथलेटिक्स फिजिक्स तथा २१ बर्ष मुनिका खेलाडीहरु बिच हुने जुनियर मि.काठमाण्डौको पनि प्रिजजिङ्ग राउण्डबाट ५ जना खेलाडीहरु दोश्रो दिन फाईनल चरणको लागि छनोट गरिने छ । फाईनलमा प्रत्येक तौल समूहबाट पहिलो दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई नगद ३०, १५ र ५ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने चौथो तथा पाँचौलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ ।

करीव ७ सय खेलाडीहरुको सहभागिता रहने बिश्वास गरिएको प्रतियोगितामा सिनियर तर्फका प्रत्येक वजन समूहका पहिलो हुने खेलाडीहरु बिच पुन प्रतिस्पर्धा गराई ओभर अलमा पहिलो हुने खेलाडीलाई ‘मिष्टर काठमाण्डौ’को उपाधीका साथै १ लाख नगद, ट्रफी र ब्यानेटले सम्मान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट करिब १४ लाख रहने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

Comment