नेपाललाई रजत पदक

इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत टिम इभेन्टमा नेपालले बुधबार रजत पदक जितेको छ । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्रीको टिम इभेन्टमा रजत जितेको हो ।
समग्रमा नेपालले एसियाली खेलकुदमा रजत जितेको यो दोश्रो पटक हो । यसअघि १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाडमा नेपालले रजत जितेको थियो । त्यो रजत व्यक्तिगत स्पर्धामा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् ।
नेपाली टिममा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले प्रतिस्पर्धा गरेका थिए । नेपालले पाँचौं चरणसम्म चलेको खेलमा ३ हजार ३ सय ६४ अंक जोड्यो । नेपाल भन्दा २७ अंक बढी जोडेकोे जापानले ३ हजार ३ सय ९१ अंक जोड्यो । आयोजक इन्डोनेसियाले तेश्रो स्थानमा चित्त बुझायो । सोही स्पर्धाको महिलामा भने नेपालले छैटौं स्थानमा चित्त बुझायो । सम्पन्न भइसकेका अन्य सबै खेलमा नेपालको स्तर विगतको तुलनामा झनै खस्कीएको भने प्रस्ट भइसकेको थियो ।
प्याराग्लाइडिङ भने पहिलो पटक समाबेश भएको हो ।

Comment