जुडो टोली हंगेरी प्रस्थान

बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । अगष्ट १० देखि १२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५२ केजीमुनि देविका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा सहभागी हुन लागेका सातै खेलाडी इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडी हुन् । इन्डोनेसिया एसियाडमा नेपालबाट जुडोमा ८ खेलाडी सहभागी हुँदैछन् । बाँकी एक खेलाडी फुपुल्हामु खत्री टोकियो ओलम्पिक २०२० र एसियाडको तयारीका लागि जापानमा प्रशिक्षणरत छिन् ।

बुढापेस्ट ग्रान्ड प्रिक्समा पुरुष ६० केजीमुनि मोहन बमले पनि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । केहि वर्षएता अस्ट्रेलियामा बस्दै आएका मोहन त्यत्तैबाट बुढापेस्ट पुगिसकेको नेपाल जुडो संघले जनाएको छ ।

प्रतियोगिता सम्पन्न भएपछि जुडो टोलीले हंगेरीमै प्रशिक्षण गर्नेछ । अगष्ट २५ तारिखमा हंगेरीबाटै टोली इन्डोनेसिया जाने छ ।

टोलीलाई प्रतिनिधि सभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment