जुडो टोली थाइल्यान्ड प्रस्थान


थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका ७ खेलाडीसहित १० खेलाडीले अगष्ट ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु, १०० केजीमाथि रविन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्ने छन् । महिला ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिने छन् । सुमित्रा, उमेश र सञ्जय बाहेक सबै एसियाडलाई छनोट भएका खेलाडी हुन् ।
एसियाडकै लागि छनोट भएकी १२ औं सागकी स्वर्णधारी फुपुल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । फुपु एसियाडका साथै टोकिया ओलम्पिक २०२० को विशेष तयारीका लागि हाल जापानमा छिन् ।
टोलीको प्रशिक्षकमा डान तेलेर्का, चन्द्र डंगोल र देवु थापा तथा व्यवस्थापकमा सुरथकाजी डोटेल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
विशेष पुरस्कारको तयारी ः
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले इन्डोनेसिया एसियाडमा पदक जित्ने खेलाडीका लागि विशेष पुरस्कारको तयारी परिषद्ले गरिरहेको बताएका छन् ।
‘एसियाडमा पदक जित्ने खेलाडीलाई सरकारको तर्फबाट पुरस्कृत र सम्मान गर्ने कार्यविधि त छँदै छ । त्यस बाहेकको पुरस्कारका विषयमा पनि हामीले छलफल गरिरहेका छौं ।’
सदस्य–सचिव विष्टले जुडो पनि पदकको आशा गरिएको खेलमा राखिएको बताउदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरी हालसम्म एसियाली खेलकुदमा जुडोले प्राप्त गर्न नससकेको पदकको खडेरीलाई तोड्दै इतिहास रचनाका लागि शुभकामना दिए ।
हंगेरीमा बैदेशिक प्रशिक्षण ः
जुडो संघका अध्यक्ष वज्राचार्यले एसियाड जुडो टोलीको बैदेशिक प्रशिक्षण हंगेरीको बुढापेस्टमा हुने बताएका छन् ।‘एसियाड जुडो टोलीलाई बैदेशिक प्रशिक्षणका लागि हंगेरीमा लाने तयारीमा छौं । बल्ल आएर भिसाका लागि अगष्ट ७ तारिखका दिन समय पाएका छौं । यदि ७ तारिखमै भिसा उपलब्ध भए टोली ८ तारिखमा हंगेरी प्रस्थान गर्नेछ ।’ अध्यक्ष वज्राचार्यले भने– ‘८ तारिख नै उड्न पाए हाम्रा खेलाडीले अगष्ट १० देखि १२ तारिखसम्म बुढापेस्टमै हुने बुढापेस्ट ग्रान्ड प्रिक्समा पनि सहभागी हुनेछन् । हाम्रो चाहना खेलाडीले प्रशिक्षणका साथै प्रतियोगितामा पनि सहभागी हुन पाउन् भन्ने हो । किनकी प्रतियोगितानै खेलाडीको स्तर मापन गर्ने आधार हो ।’

Comment