दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक


नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रीत रहि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा शनिबार बसेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेको हो । बैठकमा भुटान बाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्र सहभागी थिए ।
मुल विषयमा प्रवेश गर्नुअघि बैठकलाई अध्यक्ष श्रेष्ठले सम्बोधन गर्दै एनओसी र राष्ट्रिय खेल संघहरुको ध्यान १३ औं सागमा पूर्ण रुपमा केन्द्रीत रहेको जानकारी गराउदै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो दिएको बताए । उनले सरकारले सागका लागि बजेट समेत विनियोजन गरेको बताउदै विगतको तुलनामा खेलकुदको बजेट झन्दै दोब्बरले बृद्धि भएको बताए ।
अध्यक्ष श्रेष्ठले सरोकारवाला सबैको सहयोग भए १३ औं सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै साग आयोजना गर्न लागि परेको बताए । उनले १३ औं साग आयोजनाको जिम्मेवारी दिएकोमा दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीलाई धन्यवाद दिदै १३ औं सागलाई सफल र यादगार बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

Comment