निमा र निसालाई रजत पदक

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेका छन् । कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजी मुनि तौलसमूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएका हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । यद्यपि, फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० ले पराजित हुादै निमा रजत पदकमै सीमित भइन् ।
निशाले पनि फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै रजतमै चित्त बुझाइन् । महिलाकै ६७ केजीको सेमिफाइनलमा नेपालकी संगिता बस्याल इन्डोनेसियाकी खेलाडीसँग पराजित भएपछि कांस्य पदक जितिन् । पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग पराजित भएका नेपालका वीरबहादुर महरा र भुपेन श्रेष्ठले ‘सी’ क्याटोगरीतर्फ भने मिश्रित सफलाता हात पारे । ६८ केजी तौल समूहका वीर ‘सी’ क्याटोगरीको सेमिफाइनलमा पनि कोरियाका खेलाडीसँग पराजित हुँदै कांस्य पदकै सीमित भए । सोही क्याटोगरीकै ८० केजीमूनि भुपेनले सेमिफाइनलमा कोरियाका खेलाडीलाई १८–९ ले जित्दै फाइनल यात्रा तय गरेका थिए ।
तर, फाइनलमा मेलेसियाका खेलाडीसँग ११–२० ले स्तब्ध भएपछि रजत पदकमै चित्त बुझाए । टिम फाइटततर्फ भने शुक्रबार खेल हुने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । विष्टले यो खेलबाट राम्रो अनुभवी लिँदै आगामी इन्डोनेसियामा हुने एसियन गेम्समा खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । नेपाली टोली हाल ओलम्पियनद्वय संगिना बैद्य र दीपक विष्टको विशेष प्रशिक्षणमा कोरियामा रहेका छन् । नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comment