नविता विजेश्वरीको ‘ब्रान्ड एम्बासडर’

विजेश्वरी माविले आफ्नो पूर्व विद्यार्थी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यको उपस्थितिमा नविता र विजेश्वरीकी प्रिन्सिपल विन्दु तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्यतः विजेश्वरी स्कुल र स्कुलको टेबलटेनिसको प्रवद्र्धनलाई गरिएको सम्झौता हाललाई एक वर्षको हुनेछ । अवस्था हेरेर पछि सम्झौता लम्बिन सक्ने विजेश्वरीकी प्रिन्सिपल तुलाधरले बताइन् । ‘ब्रान्ड एम्बासडर’ भए वापत विजेश्वरीले नवितालाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने छ । कुनैपनि संस्थाले टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको यो नै पहिलो पटक भएको बताइएको छ ।
नविताले विजेश्वरीमा नर्सरीदेखि एसएलसी ९हाल एसईई० सम्म अध्ययन गरेकी थिइन् । नविता लगातार सातौंपटककी राष्ट्रिय च्याम्पियन हुन् । नेपाली टेबलटेनिसको इतिहासमा सबै भन्दा बढी राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान सागकी स्वर्णधारी सिजरिन शाहको नाममा छ । सिजरिन लगातार नभइ फरक समयको अन्तरालमा ८ पटक राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।
कार्यक्रममा प्रिन्सिपल तुलाधरले विजेश्वरी टेबलटेनिस खेलमै बढी केन्द्रीत भइ उत्कृष्ट खेलाडी उत्पादन गर्न सकेकोले नवितालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको बताइन् ।नविताले विजेश्वरीमा पाएको ‘प्लेटफर्म’ बाटै आफू आज यो स्थानमा पुग्न सफल भएको बताउदै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताइन् ।
टेबलटेनिस संघका अध्यक्ष वैद्यले नविता टेबलटेनिसको रोल मोडल भएको धारणा व्यक्त गर्दै विजेश्वरीको चाहनालाई पूरा गर्न नविता सफल हुने विश्ववास व्यक्त गरे ।
विजेश्वरीका चेयरम्यन डा। मणिकरन्त तुलाधरले अत्तिरिक्त क्रियाकलापमा उत्कृष्ट गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सुरुआत गरिएको बताउदै सम्मानले अन्य विद्यार्थी समेत प्रेरित हुने विश्वास व्यक्त गरे ।

Comment