प्रशिक्षक कोर्षको अभियानमा कुराँस संघ 

 नेपाल कुराँस संघले कुराँस खेलको विकास र बिस्तारको लागि “कोचेज सर्टिफिकेसन कोर्ष” तालिम शुरु गरेको छ । अन्तर्राष्ट्रिय कुराँस संघका बरिष्ठ प्रशिक्षक मोस्तफा डालीरियनले संघका प्रशिक्षकहरुलाई बिशेष तालिम दिइरहेका छन् । उक्त तालिममा बिभिन्न जिल्लाबाट १० जना कुराँस प्रशिक्षकहरुले सहभागिता जनाइरहेका संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराएकी छिन् । संघका पदाधिकारी तथा सदस्यहरु, खेलाडीहरु, मित्रराष्ट्र इरानका बरिष्ठ प्रशिक्षक डालीरियन तथा तालिममा संलग्न प्रशिक्षकहरुको उपस्थितिमा जेष्ठ २५ गते शुक्रवार एक कार्यक्रमका बीच “कोचेज सर्टिफिकेसन कोर्ष” तालिमको उद्घाटन गरिएको हो । ८ देखि १३ जुनसम्म ५ दिन चल्ने उक्त तालिम काठमाडौं नयाँ बजारस्थित “बहुउद्देशीय मार्सल आर्ट्स केन्द्र”मा भइरहेको छ । यस क्रममा इन्डोनेसियामा अगष्ट महिनामा आयोजना हुने अठारौँ एसियन गेम्समा सहभागी हुने कुराँस खेलाडीहरुलाई समेत बरिष्ठ प्रशिक्षक डालीरियनले बिशेष प्रशिक्षण दिने खरेलेल बताइन । बिद्यालय स्तरदेखि नै कुराँस खेलको विकास र बिस्तारको लागि यो प्रशिक्षणले निकै ठुलो महत्व राख्ने र निकट भविस्यमै कुराँसलाई अन्य स्थापित खेलको हाराहारीमा पुर्याउन सहयोगी हुने बताइएको छ ।

Comment