एपीएफ र पुलिस केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगेका छन् । शनिबार भएका आ–आफ्ना खेलमा जित हात पार्दै दुई विभागीय टोलीले जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । एपीएफ समूह ए र पुलिस समूह बीको विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
शनिबार भएको पहिलो खेलमा साविक विजेता एपीएफले पश्चिमाञ्चल भलिबल संघलाई ३–० को सोझो सेटमा हरायो । एकपक्षीय खेलमा एपीएफले २५–१६, २५–८ र २५–१२ को जित निकाल्यो । एपीएफले शुक्रबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित ग¥यो । पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेटमा जित हात पा¥यो । पुलिसले २५–२०, २५–१६ र २५–१९ को जित निकाल्यो । पुलिसले शुक्रबार गत संस्करणको उपविजेता शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट हुने खेलाडीले जनही पाँच हजार पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा शिवम् न्यु डायमन्ड एकेडेमीले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । न्यु डायमन्ड र आर्मीबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ । यसैगरी पश्चिमाञ्चल भलिबल संघले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रसँग प्रतिस्पर्धा गर्नेछ ।

Comment