मनिचन्द्र र समिराले जिते स्वर्ण


भारतिय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपमा प्रथम स्थान हात पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् । ट्राईयाथलन अन्तरगतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ्ग १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । भारतकै बिश्वरजित साईखाम ५९ मि. ५७ सेकेन्डका साथ रजत र नेपालका बशन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ कास्य पदक हात पारे । महिला तर्फ उक्त दूरी समिराले १ घण्टा ४ मिनट ५० सेकेण्डमा पुरा गरिन् । दोश्रो भएकी भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनट र ४२ सेकेन्ड र तेश्रो भएकी नेपाली खेलाडी सोनी गुरुङ्गले १ घण्टा १३ मिनट ८ सेकेण्डमा पुरा गरिन् ।
प्रतियोगिताको खुला पुरुष तर्फ पनि तिनै खेलाडीहरुले मनिचन्द्रले स्वर्ण, बिश्वरजितले रजत र बशन्त चौधरीले कास्य पाए । महिला तर्फ स्पेनकी इश्वराले स्वर्ण हात पारिन् । उनले उक्त दूरी १ घण्टा ३ मिनट ३४ सेकेण्डमा पुरा गरिन् । दोश्रो स्थानमा भारतकी समिरा र तेश्रो स्थानमा प्रग्नया रहे ।
नेपाल पर्वतीय खेलकुद अन्तरगत भएको प्रतियोगिताको ८ औं राष्ट्रिय ट्राईयाथलन प्रतियोगिता तर्फ पुरुषमा नेपाली सेनाले बर्चस्व बनायो । सेनाका बशन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ स्वर्ण हात पार्दा दिपेश चौधरीले १ घण्टा १ मिनट १८ सेकेण्डका साथ रजत र रुद्र कटुवालले १ घण्टा ४ मिनट ४३ सेकेण्डका साथ कास्य पाए । महिला तर्फ एपिएफकी सोनी गुरुङ्गले १ घण्टा १३ मिनट ८ सेकेण्डका साथ स्वर्ण, गोहाटीमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा ब्यक्तिगत तर्फ कास्य र टिम स्पर्धामा रजत पदक प्राप्त काठमाण्डौकी रोजा के.सी.ले १ घण्टा १७ मिनट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले १ घण्टा २४ मिनट १ सेकेण्डका साथ कास्य पाईन् ।
पोखराको रमणीय स्थल लेक साईडमा भएको प्रतियोगिताको ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड सेनाका मानबहादुर थापाले जिते । उनले उक्त दूरी ५४ मिनट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पार्न सफल भए । एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेण्ड र लक्ष्मण मल्लले ५५ मिनट ५३ सेकेण्डमा पुरा गर्दै रजत र कास्य पाए । महिला तर्फ दुइ खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपिएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन् । हुमाले १ घण्टा १० मिनट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनट २३ सेकेण्डमा दूरी पुरा गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मेडल तथा प्रमाण पत्र प्रदान गरे । यस अघि प्रतियोगिताको चार नं क्षेत्रका साँसद तथा नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईराला र कास्कीका सिडिओले उद्घाटन गरेका थिए ।

Comment