नेपाललाई चौथो स्थानमा सिमित मन बहादुर उत्कृष्ट स्पाइकर

एसियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिवल प्रतियोगितामा नेपाल चौथो भएको छ । शुक्रबार बंगलादेशको मिरपुर स्थित शहिद शुरवर्दी इन्डुअर स्टेडीयममा तेस्रो स्थानका लागि भएको खेलमा साविक बिजेता किर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को प्रतिस्पर्धात्मक समेटमा पराजित भएपछि नेपाल चौथो स्थानमा पुगेको हो ।
किर्गिस्तानविरुद्ध सुधारीएको प्रदर्शन गरेको नेपालले जित भने सम्भव बनाउन सकेन । यससँगै नेपालले गत बर्ष माल्दिभ्समा भएको यही प्रतियोगिताको तेस्रो संस्करणमा हात पारेको तेस्रो स्थानको सफलतालाई भने निरन्तर्ता दिन सकेन ।
माल्दिभ्मा भएको प्रतियोगिताबाट जितेको काश्य पदक नेपाली पुरुष भलिवलले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट जितेको अहिले सम्मको पहिलो र एक मात्र पदक बनेको छ । माल्दिभ्समा चार टोली सम्मिलित प्रतियोगितामा तेस्रो बन्दा नेपालले ६ टोली सम्मिलित यस प्रतियोगितामा चौथो स्थान हात पारेको हो । किर्गिस्तानविरुद्धको खेलमा पनि नेपालको रिसिभ र ब्लकमा केही कमजोरी देखिएको थियो ।
पराजयपछि नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले प्रतियोगितामा उपाधि जित्ने लक्ष्यकासाथ आए पनि सम्भव नभएको प्रतिकृया दिए । उनले बंगलादेशसँगको उद्घाटन खेल गुमाएसँगै झरेको खेलाडीको मनोबल फर्कन नसक्दा सोचेको जस्तो प्रदर्शन दिन नसकेको बताए । नेपाली टोलीका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ खेलका उत्कृष्ट स्पाइकर घोषित भए ।
‘हामी यहा उपाधि जित्ने उदेश्यका साथ आएका थियौं । यद्यपि सम्भव भएन । खेलाडीको क्षमता र हाम्रो तयारीअनुसार हामी उपाधिकै लागि दाबेदार टोली थियौं’, प्रशिक्षक भट्टले भने, ‘यद्यपि हामीले सोचेको जस्तो खेल खेल्न सकेनौं । बंगलादेशविरुद्धको पहीलो खेल गुमाएपछि खस्किएको खेलाडीको मनोबल फर्किन सकेन । त्यसहामी खेलाडीहरुले जित्ने पर्ने दबाब बोकेर पनि हुन सक्छ, क्षमताअनुसारको प्रदर्शन गर्न सकेनन् ।’

Comment