इन्द्रले दिलाए नेपाललाई दोश्रो स्वर्ण

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का रजतधारी इन्द्रबहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा आइतबार नेपाललाई दोश्रो स्वर्ण दिलाएका छन् । उनले पुरुष ६६ केजीमुनि स्वर्ण जिते ।
आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा भइरहेको प्रतियोगिताको फाइनलमा इन्द्र पाकिस्तानका बबर हुसैनलाई पराजित गरे । त्यसअघि सेमिफाइनलमा इन्द्रले भारतका अंकित विष्टलाई हराएका थिए । पहिलो दिन नेपालका लागि पुरुष १०० केजीमुनि रविन श्रेष्ठले स्वर्ण जितेका थिए ।
दोश्रो दिनको खेल सकिदा नेपाल २ स्वर्ण, ६ रजत र १३ कांस्यसाथ पदक तालिममा दोश्रो स्थानमा छ । दोश्रो दिन नेपालले १ स्वर्ण, ३ रजत र ६ कांस्य जितेको छ । पहिलो दिन नेपालले १ स्वर्ण, ३ रजत र ७ कांस्य हात पारेको थियो ।
सर्वाधिक १० स्वर्ण र ३ कांस्यसाथ भारत पहिलो तथा २ स्वर्ण, ३ रजत र ३ कांस्यसहित पाकिस्तान तेश्रो स्थानमा छन् । छ राष्ट्र सहभागी प्रतियोगितामा श्रीलंका, बंगलादेश र भुटान स्वर्णविहीन छन् । श्रीलंका ३ रजत र ५ कांस्य तथा बंगलादेश समान २–२ रजत÷कांस्य जित्दै क्रमशः चौथो र पाँचौं स्थानमा छन् । भुटानको पदक तालिकामा मात्र १ कांस्य छ ।
पुरुष ७३ केजीमुनि नेपालका सन्जिव डंगोल र ८१ केजीमुनि नेपालका सञ्जय महर्जन तथा महिला ७८ केजीमुनि नेपालकी पुनाम श्रेष्ठले रजत जिते ।
नेपालका लागि कांस्य जित्नेमा पुरुष ६० केजीमा रोशनबहादुर दोङ र उमेश मगर, पुरुष ७३ केजीमुनि जगंबहादुर सारु, महिला ७० केजीमुनि सुनीता मगर, महिला ७८ केजीमुनि भावना घर्ती मगर तथा महिला ७८ केजीमाथि आकृति जोशी छन् । नेपाल जुडो संघको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन सोमबार टिम इभेन्टका खेल हुनेछ ।
Comment