दिलिप स्मृतिलाई सहयोग


टप माउन्टेन तेक्वान्दो एसोसिएसन, हङकङले दिलिप स्मृति प्रतिष्ठान अन्तर्गतको दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङलाई खेल पोशाक र सामाग्री सहयोग गरेको छ ।
एसोसिएसनका संस्थापक गणेश गुरुङले डोजाङ प्रमुख राजेन्द्र खत्रीलाई ३० हजार बराबरको खेल पोशाक र सामाग्री आइतबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
तेक्वान्दोलाई मुख्य कार्य क्षेत्र बनाएर विगत २४ वर्षदेखि हङकङमा बसोवास गर्दै आएका गुरुङले विदेशमा रहेर पनि नेपाल र नेपाली तेक्वान्दोको मायाले सहयोग गरेको बताउदै विगतमा पनि नेपालका विभिन्न जिल्लाका डोजाङ र खेलाडीलाई पनि सहयोग गर्दै आइरहेको बताए । उनले प्रतिष्ठानले निमार्ण गर्न लागेको हलका लागि पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
डोजाङ प्रमुख खत्रीले सानो सहयोगले पनि खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।
मेलिशाले प्रतिस्पर्धा गर्ने ः
सोही कार्यक्रममा छैटौं डान एवं अन्तराष्ट्रिय निर्णायक समेत रहेका गुरुङले एसोसिएसनको नवौं वार्षिकोत्सवका अवसरमा हङकङमा हुने क्योरोगी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी मेलिशा खड्गीले प्रतिस्पर्धा गर्ने जानकारी गराए । अप्रिल २९ तारिखमा हुने प्रतियोगितामा मेलिशाले ३५ केजी तौलसमूहमा भाग लिने छिन् । टिम प्रशिक्षक एवं व्यवस्थापकमा मनोज खड्गी सहभागी हुने छन् ।
हङकङमा टप माउन्टेन तेक्वान्दो एसोसिएसनका सात वटा शाखा छन् । त्यसमा करिब २ सय खेलाडीले प्रशिक्षण लिइ रहेको संस्थापक गुरुङले जानकारी दिए ।
कार्यक्रममा डोजाङ प्रमुख खत्रीले संस्थापक गुरुङ र खड्गीसहित पूर्व तेक्वान्दो खेलाडी अजय पाण्डेलाई सम्मान गरेका थिए ।

Comment