अन्तर क्लब राष्ट्रिय भारोत्तोलन तयारी पुरा

प्रथम सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गर्न लागेको “ प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता” को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगिता बुधबार देखि दुई दिन चैत्र २८ र २९ गते सम्म ललितपुरस्थित स्पोर्ट्स हाईव, झम्सिखेलमा संचालन हुने आयोजकले जनाएका छन् ।
युवाहरुमा पावर गेम प्रतिको आकर्षणलाई ध्यान दिंदै खेलाडीहरुको उत्पादन थलो ब्यायामशाला, जिम तथा क्लबहरुलाई प्रतियोगिता मार्फत समेट्दै खेलाडीहरुको संख्यात्मक र गुणात्मक संख्यामा अभिबृद्धि गर्नुका साथै प्रतिभावान, क्षमतावान खेलाडीहरुलाई यस प्रतियोगिता मार्फत उजागार गराई राष्ट्रिय टिममा समावेश गर्नु यस प्रतियोगिताको मुख्य उद्धेश्य रहेको संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले बताए ।
१८ औं एशियन गेमको प्रारम्भिक चरणको खेलाडी छनौट तथा १३ औं दक्षिण एशियाली खेलको प्रथम चरणको खेलाडी छनोट समेत रहेको प्रतियोगितामा सिनियर र जुनियरमा पुरुष तर्फ ५६, ६२, ६०, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी र महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजी माथीको तौल समूहमा १०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अशोक फिटनेश ईक्विपमेण्ट, बानेश्वर र हेल्थ ट्रयाक फिटनेश ईक्विपमेण्ट मुख्य प्रायोजक रहेको प्रतियोगितामा उपत्यकाका ९ क्लब तथा ब्यायामशालाको सहभागिता रहने छ । जसमा नेपालमा पहिलो शारिरीक सुगठनका खेलाडी उत्पादन गर्ने ब्यायामशाला नेपाल ब्यायाम मन्दिर, ज्याठाको पनि सहभागिता रहने भएको छ । यसका साथै उपत्यका बाहिरका विभिन्न जिल्लाबाट १४ क्लब तथा ब्यायामशाला, त्रिभुवन आर्मी क्लब, पुलिस क्लब र एपिएफ क्लबको पनि प्रतियोगितामा सहभागिता रहने अध्यक्ष शाहले बताए ।
प्रतियोगितामा सिनियर तर्फका महिला ÷ पुरुष उत्कृष्ट भारोत्तोलक र स्ट्रङ्गेष्ट खेलाडी तथा जुनियर तर्फ महिला ÷ पुरुष उदियमान र उत्कृष्ट भारोत्तोलक खेलाडीलाई पुरस्कृत गरिने छ । यस्तै नयाँ किर्तिमान कायम गर्ने खेलाडीहरुलाई नगद पुरस्कारबाट सम्मानित गरिने समेत अध्यक्ष शाहले बताए ।
उपत्यका बाहिरबाट आउने खेलाडीहरुका लागि खाने, बस्ने ब्यबस्था बाबा गेष्ट हाउस, कलङकीले गर्ने र  एक तर्फी सवारी भाडा आयोजकले ब्यहोर्ने छ ।
Comment