खुला राष्ट्रिय पुरुष भलिबललाई ह्योसिमेसको साथ 


काठमाडौं । नमुना युथ एक्टीभ ग्रुपको आयोजनामा संचालन हुने दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई मेलम्ची खानेपानी ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति(ह्यो.सि.मे.स.)ले मुख्य प्रायोजन गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलनमा मुख्य प्रायोजन(टाईटल स्पोन्सर) गरे बापत ह्योसिमेसका अध्यक्ष उपेन्द्र तामाङले आयोजक नमुना युथ एक्टीभ ग्रुपका अध्यक्ष शिर बहादुर तामाङलाइ हस्तान्तरण गरेका छन् । मेलम्ची खानेपानी ह्योसिमेस दोश्रो खुला राष्ट्रिय पुरुष भलिबलको नामबाट २१ देखि २४ चैतसम्म सञ्चालन हुने प्रतियोगितालाई मेलम्ची नगर पालिकाले सह–प्रायोजन गर्ने भएको छ । प्रतियोगितालाई सह प्रायोजन गरे बापतको रकम ५ लाखको चेक मेयर डम्वर बहादुर आर्यलले आयोजकका अध्यक्ष तामाङलाई हस्तान्तरण गरे । त्यस्तै हेलम्बु एजुकेशन एण्ड लिभिङ पाटर्नशिप(हेल्प) का संचालक जिमी लामाले प्रतियोगिताको प्रथम पुरस्कार बापतको १ लाख ५२ हजारको चेक हस्तान्तरण गरे ।
प्रतियोगिताको सफलताका लागि श्यामा श्यामाधामा मेलम्ची शाखाका श्याम खड्काले १ लाख ११ हजार,तामाङ समाज रामेछाप कोरियाका उपाध्यक्ष बुद्ध लामाले १ लाख,दिपक फुट सेन्टर कालीमाटी र न्यु बुद्ध मिनी मार्केटले समान ५० हजारको चेक हस्तान्तरण गरेका छन् । मेलम्ची नगरमा हुने प्रतियोगिताको बिजेताले १लाख ५२ हजार २ सय २ रुपया,उपाबिजेतालाई ८२ हजार २ सय २ रुपया, र तेश्रो हुनेले ५२हजार २ सय २ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ७ हजार र बिधागत उत्कृष्टले जनहि ५ हजार प्राप्त गर्ने छन् । सहभागि टिमको आते–जाते र बस्ने–खाने ब्यवस्था आयोजले गर्ने छ ।
पत्रकार सम्मेलन तथा चेक हस्तान्तरण कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,महासचिव जितेन्द्रवहादुर चन्दलगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरेका थिए । लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा १५ टिमको सहभागिताको अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष शिर बहादुर तामाङले जानकारी गराए । मेलम्चीको चिनारी र भलिबल बिकास भन्ने उद्देश्यका साथ संचालन हुने प्रतियोगिताको अनुमानित २० लाख बजेट रहेको आयोजकले जनाएको छ ।

Comment