राष्ट्रिय खुला कराँते च्याम्पियनसिप फागुन २५ मा

आठौं राष्ट्रिय खुला कराँते च्याम्पियनसिप फागुन २५ गतेदेखि हुने भएको छ । नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्राङ्गणमा हुने सो प्रतियोगितामा महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक तथा प्रशिक्षक दीपक लामाका अनुसार दुई दिने प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरबाट गरी तीन सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आठ लाख रुपैयाँ अनुमानित खर्च राखिएको सो प्रतियोगिताका लागि बुढानीलकण्ठ नगरपालिका ११ ले दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यबाहक वडाध्यक्ष विनोदकुमार तामाङ्गले बताएका छन् ।

Comment