जुडोमा नेपाललाई ४ स्वर्ण

बंगलादेशमा जारी बीकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण जितेको छ । त्यस दिन नेपालले थप १ कांस्य पनि जित्यो ।
महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनीता श्रेष्ठ प्रधानले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गर्दै स्वर्ण जितिन् ।
पुरुष ६० केजीमा रोशनबहादुर दोङले स्वर्ण जिते । उनले फाइनलमा भारतका अर्विन्दो घोषलाई हराए । ६६ केजीमा स्वर्ण जितेका १२ औं सागका कांस्य विजेता इन्द्रबहादुर श्रेष्ठले बंगलादेशका कायस अहमदलाई पन्छाए । बाल विकास माविमा अध्ययनरत स्वर्ण विजेतात्रय बन्दी सहायता नियोग (पाम) मा आश्रित छन् । मनीताले घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीबाट खेल्छिन् भने बाँकी दुई पामबाटै खेल छन् ।
पुरुष ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जिते । उनले बंगलादेशकी अकिब हैदर इमोनलाई पाखा लगाए । महिला ६३ केजीमुनि निर्मला घर्तीले कांस्य जितिन् ।
प्रतियोगिताको अन्तिम दिन बुधबार ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ११ खेलाडी सहभागी छन् ।
Comment