अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

पारामाउन्ट एकेडेमीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ ।
पारामाउन्टको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा गत जनवरीमा नेपालमा भएको छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका स्वर्ण विजेता स्मृति सुवेदी, सुविन सुनुवार र राजन भोलुन, रजत विजेता सागर भेटवाल, प्रवीण कार्की र सागर न्यौपाने तथा कांस्य विजेता स्पन्डन प्याकुरेल, प्रवीण थापा, सरलराज भण्डारी र विषेक केसी सम्मानित भए ।
त्यस्तै गत नोभेम्बरमा भारतमा भएको युनिभर्सल कप अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेताद्वय दिदी शिवानी भण्डारी र बहिनी आरती भण्डारीलाई पनि सम्मान गरियो ।
सोही अवसरमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता एवं बृहत राष्ट्रिय खेलकुदको तीन फरक संस्करण (पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुद) मा लगातार स्वर्ण जित्न सफल करातेका पर्शुराम बाँस्तोला, पाँचौं डानमा पदोन्नती भएका जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का तथा एकेएफ जज महेश महर्जन पनि सम्मानित भए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पूर्व सांसद जगदिश्वरनरसिंह केसी, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे र संस्थापक निर्देशक प्रमोद पाण्डेलगायतले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
त्यसै अवसरमा जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघले पारामाउन्ट एकेडेमीलाई विगत ८ वर्षदेखि करातेको विकास र विस्तारमा योगदान पु¥याएकोमा कदर पत्र प्रदान गरी सम्मान गरेको थियो ।
Comment