सिमरा गोल्डकप ः एपिएफ अन्तिम आठमा


सिमरा । नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सिमरा गोल्डकपको क्वाटर फाईनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा प्रतिस्पर्धा गरेको नवजनजागृतीलाई पाखा लगाउँदै एपिएफले क्वाटर फाईनलमा त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो ।
एपिएफको जितमा रवि थिङ र रञ्जन विष्टले गोल गरे । एपिएफको पहिलो रोजाईका यूवराज खड्काको स्थानमा खेलको ६२ औं मिनटमा मैदान प्रवेश गरेका रवि थिङले ७२ औं मिनटमा नविन लामाको क्रसमा रविले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।
दोश्रो हाफको इन्जुरी समयमा रञ्जन विष्टले अर्को गोल गर्दै एपिएफलाई २–० को जित दिलाए । वन भर्सेस वनको स्थितीलाई सदुपयोग गर्दै रञ्जनले शानदार गोल गरे । बाराका स्थानीय खेलाडी सहभागि नवजनजागृतीले पहिलो हाफमा एपिएफलाई कडा टक्कर दिएपनि नवजनजागृतीले गोलको अवसर सृजना गर्न सकेन । एपिएफले खेल अवधिभर सिर्जना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि अन्तिम सम्म कडा संघर्ष ग¥यो ।
खेलको सातौं मिनटमा एपिएफका अञ्जन विष्टको पासमा रञ्जन विष्टले डिएरियाबाट गरेको प्रहार नवजनजागृतीका गोल रक्षक दिलमणी चौधरीले विफल पारे । १२ औं मिनटमा यूवराज खड्काको प्रहार क्रसबार माथी गयो । एपिएफका रुपबहादुर लामाको पासमा यूवराजले डिबक्स भित्रै पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
खेलको १७ औं मिनटमा एपिएफका रञ्जन विष्टले अर्को अवसर गुमाए । नविन लामाको क्रसमा डिबक्स भित्रैबाट रञ्जनले गरेको शसक्त प्रहार पोष्ट नजिकबाट बाहिरीयो ।
खेलको ४६ औं मिनटमा एपिएफका अञ्जन विष्टले पेनाल्टी अवसर गुमाए । नवजनजागृतीका डिफेण्डर लोकेन्द्रबहादुर कार्कीले अञ्जनलाई फल गरेपछि पाएको पेनाल्टी अवसरमा अञ्जन गोल गर्न चुके । अञ्जनको पेनाल्टी प्रहार पोष्ट नजिकबाट बाहिरीयो ।
निकै रोमाञ्चक खेलमा नवजनजागृतीले पनि केहि अवसर गुमाएको थियो । खेलको तेश्रो मिनटमा विवेक चौधरीले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । चतुर्धन चौधरीको पासमा विवेकले पेनाल्टी एरियामा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
३१ औं मिनटमा विवेक चौधरीको क्रसमा पेनाल्टी एरियामा पाएको अर्को अवसर सागर चौधरीले खेर फाले । वन भर्सेस वनको स्थितीमा विवेकको क्रस बल सागरले सम्हाल्न नसक्दा एपिएफका गोल रक्षक राजु नगरकोटीले बचाउ गरे ।
खेलको ८९ औं मिनटमा नवजनजागृतीका विशान्त तामाङले बराबरी गोल गर्ने मौका गुमाएका थिए । सुनिल राउतको पासमा डि बक्स भित्रैबाट तामाङले गरेको प्रहार एफिएका गोलरक्षकले बचाए ।
खेलको म्यान अफ दि म्याच एपिएफका रञ्जन विष्ट घोषित भए । शनिवार सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगर विच क्वाटर फाईनल खेल हुने छ ।

Comment