नेपालका प्रणवको विजयी सुरुआत

नेपालका प्रणव खनालले नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ अन्तर्गत पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रणवले भारतका अदित्य चोपडालाई २–१ ले पराजित गरे । पहिलो सेट ३–६ ले गुमाएका प्रणवले उत्कृष्ट पुनारागमन गर्दै दोश्रो र तेश्रो सेट क्रमशः ६–३ र ६–१ ले जित्दै नतिजा आफ्नो पक्षमा पारे ।
पहिलो दिन पुरुषमा नेपालबाट प्रणवसहित ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा प्रणव एक्लो विजेता बने । बाँकी दुई खेलाडी भारतीय खेलाडीसंग चुके । रिसभ अग्रवालले नेपालका निशान श्रेष्ठलाई ६–३ र ६–१ तथा वंश भग्तानीले नेपालका इभ्येक जोशीलाई ६–० र ६–१ को सोझो सेटमा हराए ।
पुरुष सिंगल्सको अन्य खेलमा भारतका नाइथाउलिनले पोल्यान्डका मिचल वागोक्कीलाई ६–४ र ७–५, चीनका ग्वाङसेन वेनले भारतका कृशन हुडालाई ६–३ र ६–२, जापानका ताइयो हिरानोले भारतका शशिकान्त राजपुतलाई ६–४ र ६–४, भारतका प्रशन्न प्रवीण बगाडेले चीनका वेन्माओ लिलाई ४–६, ६–२ र ६–१, भारतका अनुराग अग्रवालले जापानका दाइसुके इनागावालाई १–६, ७–५ र ७–५, थाइल्यान्डका तानापत निरुनडोर्नले भारतका जिएस सञ्जयलाई ६–२, ६–७ (५) र ६–१, भारतका जैशविन सिडानाले पोल्यान्डका थोमस फ्रान्कोउस्कीलाई ६–४ र ६–३, लाओसका फथिकोने कान्याफनले भारतका रोहन श्रीवस्तवलाई ०–६, ६–२ र ६–४ तथा जापानका ताइसेइ कागेयामाले भारतका तरुश बगाईलाई ६–२ र ६–२ को सेटमा पाखा लगाए ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिलामा सिंगल्समा सुरुको दिन ७ खेलाडीले प्रतिस्पर्धा गरे । त्यसमा तीन खेलाडी माहिका राणा, इरा रावत र प्रेरणा कोइरालाले मात्र सफलता पाए । विजेता तीनैले भारतीय खेलाडीलाई निराश पारे । माहिकाले रुदया शाहलाई ६–१ र ६–०, इराले अस्प्रित कौर बाज्वालाई ६–१ र ७–५ तथा प्रेरणले गौरी अग्रवाललाई ३–६, ६–३ र ६–० को सेटमा पन्छ्याउदै सफल सुरुआत गरे ।
महिला सिंगल्सको बाँकी खेलमा फिलिपिन्सकी मा कार्मेनसिता इसाबेला कार्लोसले नेपालकी अभिलाषा विष्टलाई ४–६, ६–२ र ६–३, भारतकी प्रिंकल सिंहले नेपालकी प्रकृति श्रेष्ठलाई ६–० र ६–०, हङकङकी चुइ केइ लिउङले नेपालकी सलोनी तामाङलाई ६–१ र ६–०, भारतकी दिब्य भानी एमले जापानकी रिको कामीकुरालाई ६–४, ६–७ (२) र ६–२, भारतकी श्रीनिधि श्रृधरले ताइपेईंकी स्किया कुङलाई ४–६, ६–२ र ६–२, जापानकी मनामी उकिताले चीनकी क्विनयु लिउलाई ६–३ र ७–६ (२), भारतकी स्मृति भासिनले नेपालकी मायांका राणालाई ६–४, ५–७ र ६–२ तथा चीनकी यिमिङ दाङले भारतकी आनन्द धराना मुडालियरलाई ६–७, ६–३ र ६–२ को सेटमा पन्छाए ।
पुरुष÷महिलामा पहिलो दिनका सबै विजेता प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले आईटीएफ सुभरभाइजर प्रवीण नायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन् ।
छदिने प्रतियोगितामा नेपालसहित ११ राष्ट्रबाट पुरुष र महिलामा समान ३२–३२ खेलाडी सहभागी छन् । उनीहरुले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
Comment