खेलाडी सम्मानित


किरात राई खेलकुद संघले विभिन्न खेलका खेलाडी, प्रशिक्षक र निर्णायकलाई शुक्रबार सम्मान गरेको छ । संघको पाँचौं स्थापना दिवसका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा बुद्धिचालकी मोनालिसा खुम्बु, एथलेटिक्सका भूमिराज राई, शारीरिक सुगठनका मुक्तिराज राई, भारोत्तोलनकी संगीता राई तथा करातेका कर्णबहादुर राई, ऐश्वर्य राई र सेशुका राई रहेका छन् । निर्णायकमा करातेकी हीरादेवी राई र मुवाथाईकी रमा राई तथा प्रशिक्षकमा करातेका प्रदीप राई सम्मानित भए । उनीहरुलाई कदर पत्रसहित सम्मान गरियो ।
त्यस्तै पदक विजेता १० वर्षीय करातेका राजेन्द्र राई र १३ वर्षीया बक्सिङकी रोशनी राईलाई प्रोत्साहन स्वरुप क्रमशः ३ हजार र २ हजार नगदसहित कदर पत्रबाट सम्मान गरिएको संघका महासचिव भोजानन्द राईले जनाएका छन् । किरात राई यायोक्खा संघका केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राई र आयोजक संघका अध्यक्ष महेन्द्रकुमार राईले उनीहरुलाई सम्मान गरे ।

Comment