भुपेनलाई स्वर्ण नेपाली तेक्वान्दोमा कोटेश्वरको प्रभाव यथाबत


ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले फाइनलमा मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गरिन् । महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारे । फाइनलमा अप्सराले प्रहरीकी सुमित्रा केसी तथा सीताले आर्मीकी रेश्मा थापालाई हराए ।
पुरुष ८७ केजीमाथि प्रहरीका अनोज पुजारी पहिलो भए । फाइनलमा उनले आर्मीका मोहम्मद वेशको चुनौती समाप्त पारे । ८७ केजीमुनि मध्यमाञ्चलका भुपेन श्रेष्ठले फाइनलमा प्रहरीका दुर्गा थापालाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । भुपेन नेपाली तेक्वान्दोमा छबी बनाएका सक्षम कार्की, रञ्जन श्रेष्ठ, काजल श्रेष्ठ, तारा रायमाझी र उज्वल गुरागाइझै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् । ८० केजीमुनि प्रहरीका जेम्स प्रधानले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका उज्ज्वल गुरागाईंलाई पन्छाए ।
पुम्सेको पुरुष १६ वर्षमुनि एपीएफका नवीन श्रेष्ठ र आर्मीका कृष्ण तामाङ, २० वर्षमाथि आर्मीका शिशिर श्रेष्ठ र मध्यमाञ्चलका उज्ज्वल श्रेष्ठ तथा २० वर्षमाथि प्रहरीका कमल श्रेष्ठ र मध्यमाञ्चलका सुजन तामाङले क्रमशः स्वर्ण र रजत हात पारे ।
पुम्सेकै महिलातर्फ १६ वर्षमुनि प्रहरीकी मोनिका रम्तेलले स्वर्ण र मध्यमाञ्चलकी रिता श्रेष्ठले रजत चुमे । २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले आर्मीकी रोशनी श्रेष्ठलाई पछि पार्दै पहिलो भइन् । २० वर्षमाथि आर्मीकी निता गुरुङ पहिलो र प्रहरीकी पार्वती गुरुङ दोश्रो बने ।
प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल तेक्वान्दो संघअन्तर्गत रेफ्री कमिटीका चेयरम्यान नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । तस्बिर ः नबीन श्रेष्ठको फेसबुक स्ट्याटसबाट)

Comment