३९ औं राष्ट्रिय टेबल टेनिसलाई हुवाईको साथ


राखेप च्याम्पियनसिप अन्तरगत काठमाण्डौमा आयोजना हुन लागेको ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई विश्वमानै सर्वाधिक विक्री हुने चाईनिज ब्राण्डको हुवाई मोवाईलले साथ दिने भएको छ । प्रायोजन सम्वन्धी सम्झौता पत्रमा हुवाईका जोयस झु (झु जियोङ्ग), नेपालका लागि हुवाईका आधिकारीक विक्रेता कल मोविलिटीका कार्यकारी निर्देशक पुलकित भिमसरिया र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले संयुक्त हस्ताक्षर गरे ।
सभ्झौता पश्चात उक्त प्रतियोगिताको नाम राखेप च्याम्पियनसिप अन्तरगत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । हुवाईका आधिकारीक विक्रेता कल मोविलिटीले प्रतियोगितालाई प्रायोजन गरेबापत नगद ५ लाख प्रदान गर्ने सम्झौता पत्रमा जनाईएको छ ।
प्रतियोगिताका लागि आवश्यक २३ लाखमा राष्ट्रिय खेलकुद परिषदले १० लाख प्रदान गरेको र प्रायोजन बापत प्राप्त ५ लाख गरि १५ लाख भएको र अपुग रकम संघ आफैले व्यहोर्ने अध्यक्ष बैद्यले पत्रकार सम्मेलनमा जानकारी गराए । खेलाडीहरुको खाने, बस्ने र आतेजाते भाडा संघले व्यहोर्ने समेत अध्यक्षले जानकारी गराए ।
प्रतियोगिता लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा पौष २६ देखि २९ गते सम्म संचालन हुने छ । प्रतियोगितामा महिला पुरुष टिम ईभेन्टस्, महिला पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा गराईने टेक्निकल टिम संयोजक एवं अखिल नेपाल टेबलटेनिस संघका महासचिव शंकर गौतमले जानकारी गराए । प्रतियोगितामा ४५ टिमका करिव ३०० खेलाडीहरुले ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

Comment