जुम्ल्याहा राणा दिदी–बहिनीलाई डबल्स उपाधि


जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स डबल्स उपाधि शुक्रबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा उक्त जोडीले अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको ब्वाइजमा दाई संरक्षणभूषण वज्राचार्य र भाई सम्यकको जोडीले बाजी मारे । फाइनलमा दाई–भाई जोडीले प्रणव खनाल र आदित सुवेदीको जोडीलाई ६–३ र ६–४ को सीधा सेटमा हराए ।
यु–९ गल्र्स सिंगल्समा सुनिरा थापा च्याम्पियन बनिन् । सुनिराले उपाधि भिडन्तमा प्रशंसा मोक्तानको चुनौती ४–१ र ५–३ ले पन्छाइन् । त्यसै स्पर्धाको ब्वाइजमा सक्षमविक्रम शाह पहिलो भए । उनले फाइनलमा आयुशमान हजुर घलेमाथि ४–२ र ४–० को सहज जित दर्ता गरे ।
यु–१० गल्र्स सिंगल्समा इभा अधिकारी पहिलो भइन् । इभाले फाइनलमा सुनिरा थापालाई ६–० र ६–३ ले पाखा लगाउदै सुनिरालाई दोहोरो चुम्नबाट वण्चित तुल्याइन् । सो स्पर्धाको ब्वाइज फाइनलमा आरभसम्राट हाडाले प्रणव मानन्धरलाई ६–० र ६–३ को सोझो सेटमा निराश पार्दै स्वर्ण जिते ।
अभिलाषा विष्ट यु–१४ गल्र्स सिंगल्समा पहिलो भइन् । फाइनलमा अभिलाषाले इशाश्री शाहमाथि ६–४ र ६–४ को जित निकालिन् । त्यस स्पर्धाको ब्वाइजमा आदित सुवेदी पहिलो भए । उनले फाइनलमा निशान श्रेष्ठलाई ६–० र ६–० ले सहजै पन्छाए ।
प्रतियोगिताको अन्तिम दिन शनिबार यु–१८ ब्वाइज र गल्र्स सिंगल्स फाइनल हुनेछ । ब्वाइजमा संरक्षकभूषण वज्राचार्यले प्रणव खनालको सामना गर्नेछन् भने गल्र्समा मायांका राणाले प्रेरणा कोइराला विरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।

Comment