ओलम्पियनलाई नगद पुरस्कारको व्यवस्था गर्ने

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने बताएका छन् । ओलम्पियन खेलाडीहरुको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रागिरी हिल्स अवलोकन÷भ्रमण कार्यक्रमलाई चन्द्रागिरीमा सम्बोधन गर्ने क्रममा सदस्य–सचिव विष्टले पहिलो ओलम्पियनलाई मासिक रुपमा नगद उपलब्ध गराउदै आएकोमा बाँकी ओलम्पियनलाई पनि मासिक नगद पुरस्कार उपलब्ध गराउने बताएका हुन् ।

‘हामीले पहिलो ओलम्पियनलाई मासिक १० हजार उपलब्ध गराउदै आएका छौं । बाँकी ओलम्पियनलाई पनि सम्भवतः आगामी माघ÷फागुनदेखि आन्तरिक व्यवस्था गरी मासिक तीन हजार उपलब्ध गराउने तयारीमा छौं । आउने आर्थिक वर्षदेखि मासिक ५ हजार दिने गरी व्वयस्था मिलाउने छौं । साथै दक्षिण एसियाली खेलकुदका रजत र कांस्य पदक विजेतालाई मासिक नगद पुरस्कारको व्यवस्था समेत गर्ने छौं ।’

कार्यक्रममा उपत्यकामा उपलब्ध पुराना पुस्ताका ओलम्पियन नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीदेखि नयाँ पुस्ताकी ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलगायत गरी ३० ओलम्पियन उपस्थित थिए । राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले एसियाली खेलकुदका लागि शीघ्र तयारी थाल्नु पर्ने बताउदै गरिब भनिएका मुलुकले पनि खेलकुदमा ठूलो फड्को मार्न सक्ने क्षमता रहेको धारणा व्यक्त गरे ।

 

Comment