सुपर लिग खेल्ने खेलाडीको टुंगो लाग्यो


हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको पुरुष÷महिला सिंगल्सको समूह चरणका खेलहरु सोमबार सम्पन्न भएका छन् । समूह चरणका खेल सकिएसंगै सुपर लिग खेल्ने १२ पुरुषमा तथा ९ महिला खेलाडीको टुंगो पनि लागेको छ । महिलाको समूह ‘ए’ बाट नेपाल आर्मी क्लबकी दीक्षा तामाङ पहिलो, नेपाल प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ दोश्रो तथा नेपाल एपीएफ क्लबकी सिक्का सुवाल तेश्रो हुँदै सुपर लिगमा प्रवेश गरे । ६ खेलाडी सहभागी यो समूहमा दीक्षाले शत प्रतिशत जित निकालिन् । नविताले ४ जित र १ हारको सामना गरिन् । सोमबारै भएको खेलमा दीक्षाले नवितालाई ३–१ को सेटमा पराजित गरेकी थिइन् ।
समूह ‘बी’ बाट एपीएफकी सेलिशा खड्गी, आर्मीकी रविना महर्जन र प्रहरीकी सोनु थापा मगर तथा समूह ‘सी’ बाट आर्मीकी स्वेच्छा नेम्वाङ, प्रहरीकी एलिना महर्जन र प्रहरीकी यशस्वी सुवाल सुपर लिगलाई चयन भए ।
पुरुषको समूह ‘ए’ बाट एपीएफका विलोश श्रेष्ठ र प्रहरीका विनेश खनियाँ, समूह ‘बी’ बाट एपीएफका शिवसुन्दर गोथे र आर्मीका चन्दन शाही तथा समूह ‘सी’ बाट एपीएफका अमरलाल मल्ल र आर्मीका नारायण घिमिरेले सुपर लिगमा स्थान बनाउन सफल भए ।
त्यसैगरी, समूह ‘डि’ बाट एपीएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका, समूह ‘इ’ बाट राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठ र आर्मीका कृष्ण थापा मगर तथा समूह ‘एफ’ बाट प्रहरीका दीप साउन र भक्तपुरका राजिव चिकन्बन्जारले सुपर खेल्ने भएका छन् । सुपर लिगअन्तर्गत पुरुषका केहि खेल सोमबारैदेखि नै सुरु भएको छ ।

Comment