रियो ओलम्पियनलाई एनओसीको सम्मान


नेपाल ओलम्पिक कमिटी (एनओसी) ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गर्दै सम्मान गरेका हुन् । ब्राजिलको रियो दि जेनेरियोमा गत वर्षको अगष्ट ५ देखि २१ तारिखसम्म भएको ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री, पौडीका शिरिष गुरुङ र गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावलले सहभागीता जनाएका थिए । गौरिका भने कार्यक्रममा उपस्थित थिइनन् । उनी परिवारसंगै लन्डनमा बस्दै आएकी छन् ।
खेलाडीलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘ओलम्पिकमा सहभागीता जनाउने गौरवको विषय हो । रियो ओलम्पिकमा नेपालले आफूलाई विश्वमाझ चिनाउन समेत सफल भएको थियो ।’
पौडीकी गौरिका सिंह रियो ओलम्पिकमा सहभागी मध्ये कान्छी खेलाडी बनेकी थिइन । त्यत्तिबेला उनी १३ बर्षकी थिइन् । त्यसैगरी रियो ओलम्पिकमा जुडोकी फुपुले ओलम्पिकको उद्घाटन सत्रको मार्च पार्समा नेपाली झन्डा बोक्ने अवसर पाएकी थिइन् ।
एनओसीका अध्यक्ष श्रेष्ठले जापानमा हुने २०२० को ओलम्पिकका लागि बढी खेलाडीको सहभागिताका लागि खेलाडी तयार गर्न सुरु गरिहाल्ने बताए । ‘बैदेशिक प्रशिक्षण दिने, छात्र बृत्तिमार्फत खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा हामीले कुरा गरिरहेका छौं । यस अघि पनि छात्रबृत्ती प्राप्त भएको थियो । जसका कारण खेलाडीले राम्रो प्रदर्शन गरे । केहि खेलाडीले वाइल्डकार्ड पाएनन् तथापी हामीले उनीहरुलाई छात्र बृत्तिको सुविधा प्रदान गरिसकेका छौं’ उनले भने, ‘त्यस अघि हुने युथ ओलम्पिक र एसियाडका आधारमा पनि खेलाडीका लागि वातावरण तयार हुने छ ।’
एनओसीले खेलाडीहरुलाई नगदसहित सम्मान गर्दै देशका खेलाडीले बाचेर खाने अवस्था सिर्जना गर्नका लागि ओलम्पिकले दीर्घकालिन नीति तय गर्ने बताए ।
रियो ओलम्पिकमा नेपालबाट ५ खेलका सात खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन पुरुष र चार महिला थिए । आर्चरीको पुरुष व्यक्तिगततर्फ जितबहादुर मोक्तान सहभागी भएका थिए । एथलेटिक्समा पुरुष ५ हजार मिटेरमा हरि र महिलाको १५ सय मिटरमा सरस्वतीको सहभागिता थियो । सरस्वतीले आ–आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
त्यसैगरी जुडोतर्फ फुपुले महिला ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । पौडीमा शिरीषले पुरुष १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले ५७ दशम्लव ७६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान रचेका थिए । गौरिकाले महिला १ सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन् ।
तेक्वान्दोबाट निशाले महिला ६७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी सातौं स्थानमा आएकी थिइन् ।

Comment