एलिना र स्वेच्छाको ह्याट्रिक जित


नेपाल प्रहरी क्लबकी एलिना महर्जन र नेपाल आर्मीकी स्वेच्छा नेम्वाङले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार तीन–तीन खेलमा जित हात पारेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको समूह ‘सी’ को लिगमा एलिनाले पिङपोङ सुपरस्टारकी लश्ता महर्जन, प्रहरीकी यशस्वी सुवाल र धरानकी रुपा लिम्बूलाई समान ३–० को सोझो सेटमा पराजित गरिन् । स्वेच्छाले पनि एलिनाले नै पराजित गरेकी तीनै प्रतिद्वन्द्वीलाई समान ३–० को नतिजामा हराइन् ।
समूह ‘बी’ को लिगमा आर्मीकी रविना महर्जन र नेपाल एपीएफ क्लबकी सेलिशा खड्गीले दोहोरो जित आत्मासात् गरे । रविनाले याला स्पिनकी अनुष्का प्रसाईंलाई ३–० तथा प्रहरीकी मन्जु सुवाललाई ३–२ ले पन्छाइन् । सेशलिशाले प्रहरीकी सोनु थापा मगरलाई ३–२ तथा प्रहरीकै मन्जु सुवाललाई ३–१ ले पाखा लगाइन् ।
त्यस्तै समूह ‘ए’ को लिगमा प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले एपीएफकी सिक्का सुवाललाई ३–१ तथा काठमाडौंकी रुबी वज्राचार्यलाई ३–० ले पराजित गरिन् । आर्मीकी दीक्षा तामाङले आर्मीकी दीक्षा दाहाललाई ३–२ तथा एपीएफकी सिक्का सुवाललाई ३–१ ले पन्छाइन् ।
इम्पेक्ट स्पोर्ट्स म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको समूह ‘ए’ मा प्रहरीका विनेश खनियाले एपीएफका एलेक्स महर्जनलाई ३–०, एपीएफका विलोश श्रेष्ठले याला स्पिनका निकेश महर्जनलाई ३–० र वज्र युनियनका टेन्डी शेर्पाले आर्मीका गौरव श्रेष्ठलाई ३–० ले पराजित गरे ।
समूह ‘बी’ को प्रतिस्पर्धामा एपीएफका शिवसुन्दर गोथेले वज्रका वज्रप्रकाश लामालाई ३–१, आर्मीका चन्दन शाहले यालाका आरिश महर्जनलाई ३–० तथा प्रहरीका राकेश महर्जनले पिङपोङका सेयोन गुरुङलाई ३–० ले हराए ।
समूह ‘सी’ मा एपीएफका अमरलाल मल्लले काठमाडौंका प्रज्ज्वल केसी, आर्मीका नारायण घिमिरेले आफ्नै क्लबका प्रज्ज्वल श्रेष्ठ र धरानका महावीर चौधरीले भक्तपुरका रजोजमान थाकुलाई समान ३–० को नजितमा पाखा लगाए ।

Comment