ह्वाइटहाउस र साइपाल क्वाटरफाइनलमा


ह्वाइटहाउस कलेज र साइपाल एकेडेमी प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवै आ–आफ्नो समूहको विजेता बन्दै क्वाटरफाइनल पुगेका हुन् । ह्वाइटहाउस समूह ‘सी’ तथा साइपाल समूह ‘ए’ को विजेता बने । शंखमूल फुटसलमा ह्वाइटहाउसले ब्रिटिस कलेजलाई ३–१ गोलले पराजित ग¥यो । विजेताका सनिश खड्गीले तीनै गोल गरे भने ब्रिटिसका विबव राईले १ गोल गरे । साइपालले युनि ग्लोबलाई ५–० ले सहजै हरायो । साइपालका सुजन बस्नेत, मुकेश तामाङ, इङग्ला लिम्बू, अनिश थापा मगर र निशाान माझीले १–१ गोल गरे ।
समूह ‘सी’ बाट इन्साइड भिजन र समूह ‘ए’ बाट कान्जिरोवा उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । इन्साइडले ह्वाइटफिल्डलाई ४–० तथा कान्जिरोवाले लिभरपुललाई ३–१ ले पाखा लगाए ।
त्यस्तै क्वाटरफाइनल पुगेका आईडियल र ओलम्पिया समूह ‘बी’ को क्रमशः विजेता र उपविजेता बने । समूह ‘डि’ बाट टाइम्स विजेता र गोल्डेनगेट उपविजेताहुँदै अन्तिम आठमा पुगे ।
लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको अल्फा बिटा इन्स्टिच्यूट प्रा.लि.द्वारा आयोजित प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Comment