अभिषेक र मायांका च्याम्पियन


पश्चिमाञ्चलका अभिषेक बाँस्तोला र नेपाल प्रहरी क्लबकी मायांका राणा राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन् । दुवै अपराजित रहे । सातदोबाटोस्थित टेनिस कोर्टमा आठ खेलाडी सहभागी राउन्ड रोविनको पुरुष सिंगल्समा अभिषेकले ७ खेलमा जित हात पारे । अन्तिम दिन उनले एपीएफका सन्तोष खत्रीलाई ६–० र ६–० तथा पश्चिमाञ्चलकै प्रदीप खड्कालाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे ।
राष्ट्रिय च्याम्पियन नेपाल आर्मीका संरक्षकभूषण वज्राचार्यले दोश्रो स्थानमा चित्त बुझाए । उनले ६ मा जित र १ मा हार व्यहोरे । त्यस्तै आर्मीका प्रणव खनाल (५ जित र २ हार) तेश्रो तथा प्रहरीका कमलबहादुर भण्डारी (४ जित र ३ हार) चौथो भए । एपीएफका श्रीराम मगरले पाँचौं, एपीएफकै सन्तोष खत्रीले छैटौं, प्रहरीका दावा शेर्पाले सातौं तथा पश्चिमाञ्चलका प्रदीपले आठौं स्थानमा यात्रा टुंगाए ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा शत प्रतिशत जित निकाल्ने क्रममा मायांकाले ६ वटै खेलको नतिजा आफ्नो पक्षमा पारिन् । महिलाको राउन्ड रोविन लिगमा ७ खेलाडी सहभागी थिए । समूह चरणको खेलमा आठै खेलाडी राउन्ड रोविनका लागि छनोट भएपनि चोटका कारण आर्मीकी इरा रावतले सुरुबाटै राउन्ड रोविन लिग त्यागीकी थिइन् ।
अन्तिम दिन मायांकाले दोहोरो सफलता चुमिन् । मायांकाले आर्मीकी अभिलाषा विष्टलाई ६–३ र ६–० तथा एपीएफकी विजिशा श्रेष्ठलाई ६–३ र ६–२ को सीधा सेटमा हराइन् । ४ जित र २ हारमा मायांकाकी जुम्ल्याहा बहिनी प्रहरीकै माहिका दोश्रो भइन् । एपीएफकी एनी माथेमा, पश्चिमाञ्चलकी गंगा शर्मा, आर्मीकी अभिलाषा विष्ट, एपीएफकी विजिशा श्रेष्ठ र एपीएफकी भगवती विक क्रमशः तेश्रोदेखि सातौं स्थानमा रहे ।

Comment