अभिषेक र मायांका अपराजित


पश्चिमाञ्चलका अभिषेक बाँस्तोला र नेपाल प्रहरी क्लबकी मायांका राणाले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताअन्तर्गत राउन्ड रोविन लिगको सोमबार पाँचौं चरणको खेल सकिँदासम्म अपराजित छन् । जारी प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित यात्रा तय गर्ने यि दुई मात्र हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार महिला सिंगल्समा मायांकाले जुम्ल्याहा बहिनी प्रहरीकै माहिकालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरिन् भने अर्को खेलमा प्रतिद्वन्द्वीबाट वाक ओभर पाइन् । दोश्रो खेलमा भने माहिकाले सफलता पाइन् । माहिकाले एपीएफकी भगवती विकलाई ६–३ र ६–१ को सीधा सेटमा हराइन् ।
पुरुष सिंगल्समा अभिषेकले प्रहरीका दावा शेर्पालाई ६–० र ६–० तथा नेपाल आर्मीका प्रणव खनाललाई ७–५ र ६–४ को सीधा सेटमा हराए । पश्चिमाञ्चलकै प्रदीप खड्का विरुद्ध भने प्रणव ६–४ र ६–० को सोझो सेटमा विजयी भए ।
पुरुष सिंगल्सको अन्य खेलमा आर्मीका संरक्षकभूषण वज्राचार्य र प्रहरीका कमल भण्डारीले दोहोरो जित आत्मासात् गरे । संरक्षकले एपीएफका श्रीराम मगरलाई ७–६(२) र ७–६(५) तथा पश्चिमाञ्चलका प्रदीप खड्कालाई ६–२ र ६–१ ले पन्छाए । कमलले एपीएफका सन्तोष खत्रीमाथि ६–१ र ६–४ को जित रचे भने एपीएफका श्रीराम विरुद्ध ६–० र ७–५ को जित हात पारे । अर्को खेलमा जित हात पार्ने क्रममा एपीएफका सन्तोषले प्रहरीका दावा विरुद्ध ६–३, २–६ र ६–३ को नतिजा निकाले ।
महिला सिंगल्समा दुई खेल जितेकी आर्मीकी अभिलाषा विष्टले एपीएफकी विजिशा श्रेष्ठलाई ७–५ र ६–३ तथा एपीएफकी भगवतीलाई ६–१ र ६–१ ले पाखा लगाइन् । विजिशा पश्चिमाञ्चलकी गंगा शर्मासंग पनि ६–२ र ६–१ ले चुकिन् । गंगा एपीएफकी एनी माथेमासंग भने ७–६(५) र ६–४ ले पछि परिन् ।
प्रतियोगिताको अन्तिम दिन छैटौं र सातौं चरणका खेल हुनेछन् । उक्त चरणको खेल सकिएसंगै शीर्ष आठमा पर्ने खेलाडीको टुंगो लाग्ने छ ।

Comment