राउन्ड रोविन लिग सुरु


राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष÷महिला सिंगल्सको राउन्ड रोविन लिगका खेलहरु शनिबारदेखि सुरु भएको छ ।
पुरुष सिंगल्समा एपीएफका सन्तोष खत्रीले पश्चिमाञ्चलका प्रदीप खड्कालाई ६–३ र ६–३, नेपाल प्रहरी क्लबका कमलबहादुर भण्डारीले प्रहरीकै दावा शेर्पालाई ६–२, ४–६ र ६–०, पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले एपीएफका श्रीराम मगरलाई ६–० र ६–० तथा नेपाल आर्मीका संरक्षकभूषण वज्राचार्यले आर्मीकै प्रणव खनाललाई ७–५ र ६–३ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा प्रहरीकी माहिका राणाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–२ र ६–३, प्रहरीकै मायांका राणाले एपीएफकी भगवती विकलाई ६–४ र ६–२ तथा एपीएफकी एनी माथेमाले एपीएफकै विजिशा श्रेष्ठलाई ६–३ र ६–१ को सोझो सेटमा हराए । आर्मीकी अभिलाषा विष्टले वाक ओभर पाइन् ।
राउन्ड रोविन लिगमा ८ पुरुष र ८ महिला गरी १६ खेलाडी सहभागी छन् । उक्त प्रतिस्पर्धाबाट शीर्ष ८ खेलाडीको वरीयता निर्धारण गरिने छ । वरीयतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको आधार बनाइने आयोजक अखिल नेपाल लनटेनिस संघले जनाएको छ ।
त्यसअघि समूह चरणको खेलअन्तर्गत पुरुषको समूह ‘ए’ मा श्रीराम र कमल, ‘बी’ मा संरक्षक र अभिषेक, ‘सी’ मा सन्तोष र दावा तथा ‘डि’ मा प्रणव र प्रदीप क्रमशः विजेता र उपविजेता हुँदै राउन्ड रोविन लिगमा स्थान पक्का गरेका थिए । समूह चरणमा १७ खेलाडीलाई ४ समूहमा विभाजन गरी लिग खेलाइएको थियो ।
महिलाको समूह ‘ए’ मा मायांका, गंगा, एनी र विजिशा तथा ‘बी’ मा माहिका, अभिलाषा, भगवती र आर्मीकी इरा रावतले क्रमशः शीर्ष चार स्थान हात पार्दै राउन्ड रोविनमा स्थान बनाएका थिए । ११ महिला खेलाडीलाई २ समूहमा बाँडेर लिग खेलाइएको थियो ।

Comment