मायांका, माहिका र अभिलाषाको दोहोरो जित

जुम्ल्याहा दिदी–बहिनी नेपाल प्रहरीका मायांका राणा र माहिका राणा तथा नेपाली सेनाकी अभिलाषा विष्टले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार दोहोरो जित हात पारेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–२ र ६–२ तथा एपीएफकी एनी माथेमालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरिन् । माहिकाले एपीएफकी इन्द्रकला श्रेष्ठ तथा सेनाकी इरा रावतलाई समान ६–० र ६–० को सीधा सेटमा सहजै हराइन् । अभिलाषाले इरालाई ६–४ र ६–३ तथा एपीएफकी भगवती विकलाई ६–२ र ६–० को सोझो सेटमा हराइन् । महिला सिंगल्सको अन्य खेलमा एपीएफकी एनीले एपीएफकै विजिशा श्रेष्ठलाई ६–३ र ६–०, एपीएफकी भगवतीले एपीएफकै क्याथ्रिन माथेमालाई ७–५ र ७–५, एपीएफकी विजिशाले मध्यमाञ्चलकी स्नेहा यादवलाई ६–१ र ६–२ तथा क्याथ्रिनले इन्द्रकलालाई ६–० र ६–१ को सेटमा पाखा लगाए । महिला सिंगल्समा ११ खेलाडी सहभागी छन् । उनीहरुलाई दुई समूहमा विभाजन गरी राउन्ड राविन लिग खेलाइने छ । समूह ‘ए’ को शीर्ष ४ र समूह ‘बी’ को शीर्ष ४ गरी ८ खेलाडीबीच पुनः राउन्ड रोविन लिग खेलाइ खेलाडीको वरीयता निर्धारण गरिने छ । पुरुष सिंगल्समा एपीएफका श्रीराम मगरले मध्यमाञ्चलका निशान श्रेष्ठलाई ६–२ र ६–४, प्रहरीका कमलबहादुर भण्डारीले सेनाका अभिनव आचार्यलाई ६–० र ६–१, पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले सुदूरपश्चिमाञ्चलका गौरवप्रताप शाहीलाई ६–० र ६–२, सेनाका संरक्षकभूषण वज्राचार्यले प्रहरीका महेश श्रेष्ठलाई ६–२ र ६–२, प्रहरीका दावा शेर्पाले सेनाका सम्यकभूषण वज्राचार्यलाई ६–२ र ६–०, एपीएफका सन्तोष खत्रीले एपीएफकै आत्माराम कार्कीलाई ६–३ र ७–५, मध्यमाञ्चलका राजेश क्षेत्रीले एपीएफका श्रीराम मगरलाई ५–७, ७–५ र ७–५, सेनाका प्रणव खनालले मध्यमाञ्चलका गौरीशंकर श्रेष्ठलाई ६–० र ६–०, सेनाका अभिनवले मध्यमाञ्चलका निशानलाई ६–१, ३–६ र ७–६, प्रहरीका महेशले सुदूरपश्चिमाञ्चलका गौरवलाई ७–६ र ६–४, सेनाका संरक्षकभूषण वज्राचार्यले पश्चिमाञ्चलका अभिषेक बाँस्तोलालाई ४–६, ६–३ र ६–४, एपीएफका सन्तोषले प्रहरीका दावालाई ६–४ र ७–६, सेनाका सम्यकले एपीएफका आत्मारामलाई ६–३ र ६–२, पश्चिमाञ्चलका प्रदीप खड्काले मध्यमाञ्चलका शिवराराम मगरलाई ६–२ र ६–४ तथा मध्यमाञ्चलका गौरीले सोही क्षेत्रका राजेशलाई ६–१ र ६–१ को सेटमा हराए । पुरुष सिंगल्समा सहभागी १७ खेलाडीलाई चार समूहमा विभाजन गरी लिग खेलाइने छ । प्रत्येक समूहको शीर्ष २ खेलाडी गरी जम्मा ८ खेलाडीबीच पुनः राउन्ड रोविन लिग खेलाइनेछ । त्यसबाट खेलाडीको वरीयता तोकिने छ ।

Comment