राष्ट्रिय करातेको तयारी पूरा

राखेप च्याम्पियनसिपअन्तर्गत हुने ५० औं राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल कराते महासंघले जनाएको छ । प्राविधिक कारणले प्रतियोगिता निर्धारित समय भन्दा एकदिन अघि नै गर्न लागिएको सागका दोहोरो स्वर्ण विजेता एवं प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी दिए । पहिले प्रतियोगिता कात्तिक २३ देखि २५ गतेसम्म हुने भनिएको थियो । त्यसको साटो प्रतियोगिता कात्तिक २२ मा सुरु भइ २४ गते सम्पन्न हुनेछ । प्रतियोगितामा विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा हुने कराते महासंघका अध्यक्ष दावा गुरुङले बताए । पुरुषमा ८ र महिलामा ७ तौलसमूहमा भिडन्त हुनेछ । पुरुष÷महिलाको एकल र टिम काता तथा टिम फाइटमा पनि खेल हुनेछ । पाँच विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट बढीमा १ सय ८४ खेलाडीको सहभागिता रहने बताइएको छ । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिने छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Comment