तेक्वान्दो टोली मकाउ जाने


मकाउ ओपन ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०१७ तथा सातौं तिरक तेक्वान्दो ईन्टरनेशनल च्याम्पियनसिप २०१७ मा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यस तर्फ प्रस्थान गर्ने भएको छ । कार्तिक ११ देखि १३ गते सम्म मकाउमा आयोजना हुने आमन्त्रण प्रतियोगितामा सहभागी हुन राष्ट्रिय तेक्वान्दोका ९ खेलाडी सहित १६ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय देवकुमार अधिकारी “बद्री” र गंगाबहादुर थापाले बुधबार एक कार्यक्रमविच शुभकामना सहित बिदाई गरे ।
राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरुमा राकेश कुमार राई, सुनिता तामाङ्ग, विकास गौतम, रोशन नेपाली, विनिता घिमिरे, सुक्रबहादुर बि.क., करन कोईराला, मदन बि.क. र सञ्जय पुन रहेका छन् । यस्तै प्रशिक्षकमा बरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ्ग, प्रशिक्षक पदमबहादुर केसी, अफिसियलमा नारायणराज अर्याल र रिखीराम पोखरेल तथा पत्रकार श्रीबिक्रम भण्डारी रहेका छन् ।
यस अघि टोली थाईल्याण्डमा अक्टोबर २० र २१ मा आयोजना हुने सातौं तिरक तेक्वान्दो ईन्टरनेशनल च्याम्पियनसिपमा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त च्याम्पियनसिपमा माथि उल्लेखित खेलाडी लगायत खेलाडीद्वय बुद्धिबहादुर थापामगर र विवेक विश्वकर्माले समेत प्रतिस्पर्धा गर्नेछन् । खेलाडीद्वय थाईल्याण्डको च्याम्पियनसिप पश्चात स्वदेश फर्कनेछन् भने अन्य खेलाडी तथा अफिसियलहरु मकाउ प्रस्थान गर्ने कार्यक्रम रहेको टिम लिडर तथा महासचिव कार्कीले बताए ।
खेलाडी तथा अफिसियलहरुलाई राष्ट्रिय तेक्वान्दो संघका संरक्षक एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री, अध्यक्ष शिव कोईराला, प्रमुख प्रशिक्षक एकनाथ थापा, पूर्व खेलाडी गोरखबहादुर थापालगायतले शुभकामना सहित बिदाई गरे । टोली शुक्रबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comment