अखिल नेपाल खेलकुद महासंघको शुभकामना कार्यक्रम


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले खेलाडीका रुपमा आफू ‘ज्याक अफ अल मास्टर अफ नन्’ भएको बताएका छन् । अखिल नेपाल खेलकुद महासंघले २०७४ सालको विजयादशमी, शुभ दिपावली, छठलगायत विभिन्न पर्वको उपलक्ष्यमा शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा दाहालले भने– ‘मैलै आफ्नो बेलामा धेरै खेल खेले । मैले फुटबल, भलिबल, दौड, कराते, घोडचढी, बक्सिङ, टेबलटेनिस खेले । तर म कुनैमा पनि पोख्त छैन । टेबलटेनिस त म अहिले पनि आफूलाई मेन्टेन गर्न नियमित खेल्छु । तर टेनिस एल्बोमा समस्य देखिएकोले २÷३ महिना भो खेलेको छैन । मैलै यो भन्नुको कारण खेलकुद प्रति मेरो सद्भाव र लगाव छ भन्न मात्र खोजेको हो ।’
दाहालले शान्ति प्रक्रियामा आएदेखि खेलकुद जगतलाई व्यवस्थित र विकसित गर्न सक्दो प्रयास गरेको बताउदै जति गर्नुपर्ने थियो त्यो नभएकोमा भने चिन्ता व्यक्त गरे । उनले खेलकुद कुनैपनि देशको संस्कृति, सभ्यता र योग्यता चिनाउने माध्यमका साथै एकताको मध्यम भएको बताउदै स्वस्थ जीवनका लागि मात्र नभइ स्वस्थ राष्ट्र निर्माणका लागि खेलकुद अपरिहार्य भएको धारणा व्यक्त गरे ।
गृह मन्त्री जनार्दन शर्माले खेलकुदमा रहेको विवादलाई अन्त्य गरी खेलाडीलाई ढुक्कसंग खेल्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पार्टीको स्वार्थका लागि नभइ खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले राजनीतिक पार्टीले खेलकुद संगठन खोल्नु राम्रो पक्ष भएको विचार व्यक्त गरे ।
अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले खेलकुदको विकास र खेलाडीको हितमा महासंघ एक ढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम महासंघका उपाध्यक्ष एवं राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्कीले सञ्चालन गरेका थिए । कार्यक्रममा महासंघका महासचिव काली बहादुर घर्तीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

 

Comment