राष्ट्रिय कराते प्रतियोगिता अर्को महिना


नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता २०७४ कार्तिक २३ देखि २५ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । २०१८ मा हुने १८ औं एशियाली खेलकुद, सन् २०१९मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद र २०२० मा आयोजना हुने ओलम्पिक गेमलाई मध्येनजर राख्दै स्तरिय र अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक, साग स्वर्ण पदकधारी एवं प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।
तीन दिने प्रतियोगितामा संघिय संरचना अनुरुप सात प्रदेश र तीन विभगिय टिमका महिला तर्फ १०० र पुरुष तर्फ ११० गरि कुल २१० खेलाडीहरुले महिला तर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनी र ६८ केजी माथी गरि ६ र पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनी र ८४ केजी माथी गरि ७ तथा महिला÷पुरुष एकल र टिम काता गरि कुल १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
प्रतियोगितामा सहभागि हुने सात प्रदेशका खेलाडीहरुलाई प्रदेशस्तरमा प्रतिस्पर्धा गराई छनोट गरिने र प्रत्येक टोलीले प्रतियोगितामा प्रत्येक विधामा एक एक खेलाडी र कातामा गरि २१ खेलाडीले सहभागिता गर्न पाउने नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले यस प्रतियोगिताले आठौं सागमा हासिल गरेको उपलब्धिलाई पुन हासिल गर्ने विश्वास ब्यक्त गरे ।प्रतियोगिताको अनुमानित बजेट करिव २९ लाखको रहेको छ ।

Comment