रिङ रेस्लिङमा सुनिता


नेपाल रिङ रेस्लिङ संघको प्रथम साधारण सभाले सुनिता थापालाई पुन अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । ललितपुरमा भएको प्रथम साधारणसभाले थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा योगेश्वर श्रेष्ठ निर्वाचित भए भने महासचिवमा सुवर्ण श्रेष्ठ निर्विरोध भइन् । सचिवमा सभ्यता लौडारी, कोषाध्यक्षमा कमल तामाङ निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा सारदा कार्की,आषिश प्रधान, सुनिल थापा, सुनिता श्रेष्ठ, गंगा थापा र दिव्या थापा निर्वाचित भए ।
नव निर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्बाट प्रमुख निर्वाचन अधिकृतका रुपमा खटिएका डेमबहादुर बस्नेतले सपथ ग्रहण गराएका थिए । साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले गरेका थिए । उनले छोटो समयमा नै रिङ रेलिस्ङ संघले खेलकुदमा नयाँ पहिचान बनाउन सफल भएको बताए ।
नवनिर्वाचत अध्यक्ष सुनिता थापाले आगामी दिनमा रिङ रेस्लिङ खेलाडीका लागि व्यस्त बनाउन बताइन् । उनले नयाँ खेलाडी उत्पादन गर्नका लागि संघले एकेडेमीको अवधारणा ल्याएको बताइन् । कार्यक्रममा संघकी महासचिव सुवर्ण श्रेष्ठले संघले एक बर्षको अवधिमा गरेको विभिन्न गतिविधिको विषयमा चर्चा गर्दै भावि कार्यक्रम तथा योजना प्रस्तुत गरेकी थिइन् । उनले संघ दर्ता भएलगत्तै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिस्तरबाट इन्टरनेशनल प्रतियोगिता गरेको बताइन् । संघले नियमित रुपमा टेलिभिजन च्यानलमा रेस्लिङ देखाउने वातावरणका लागि गृहकार्य गरिरहेको समेत बताइन् । ‘विश्वमा रेस्लिङको माग छ । नेपालमा पनि रेस्लिङ मन पराउने दर्शक धेरै छन् । उहाँहरुलाई ध्यानमा राखेर खेलाडी उत्पादनमा हामी जुटिरहेका छौं ।’ श्रेृष्ठले भनिन् ।

Comment