जापानी जुडोका विशेष सल्लाहकार नेपालमा

अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारो नेपाल आएका छन् । ‘स्पोर्ट्स फर टुमोरो’ कार्यक्रमअन्तर्गत गोतारोको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई तालिम दिन सोमबार नेपाल आइपुगेको हो । अहिले पनि भेट्रान स्पर्धामा खेललाई जारी राखेका गोतारोसंगै जापान जुडो फेडेरेसनका अन्तर्राष्ट्रिय विभाग प्रमुख ओनुकी सायाको तथा जुडो खेलाडीत्रय यगी आयाका, मुकाइ सुन सुके र उत्सिरो युसुकेको टोली नेपाल आएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
उनीहरुले मंगलबारदेखि नै तालिम दिन सुरु गरिसकेका छन् । उनीहरुले राष्ट्रिय टिम, जुडो खेल प्रशिक्षण हुने अनाथलय, नेपाल आर्मी, उपत्यकाका डोजोमा गएर खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । तालिम सेप्टेम्बर १९ तारिखसम्म चल्नेछ ।
जुडो संघका अध्यक्ष वज्राचार्यले तालिमले भविष्यका लागि खेलाडी तयार गर्न सहज हुने र जुडो खेलको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै दुई देशबीचको भाइचारामा पनि अझ बृद्धि हुने बताए ।

Comment