नेपालको पहिलो हार


नेपालले साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार पहिलो हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा शारीरिक रुपमा बलिया र अग्ला खेलाडी रहेको टोली बंगलादेशले नेपाललाई समग्रमा ११ अंकले पराजित ग¥यो । निर्णायकले खेल सकिएको सिठ्ठी फुक्दा बंगलादेश ६८–५७ को स्थितिमा थियो । तेश्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो । अन्तिम क्वाटरमा त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाल प्रतिद्वन्द्वीलाई नतिजा सुम्पिन बाध्य भयो ।
नेपालले पहिलो क्वाटरमा २२–१० को अग्रता लिदै सुखद सुरुआत गरेको थियो । दोश्रो क्वाटर बंगलादेशले २१–१० ले आफ्नो पक्षमा पार्दै पहिलो क्वाटरमा १२ अन्तरले पछि परेको अवस्थालाई १ अंकमा झार्न सफल भयो । तेश्रो क्वाटरमा नेपालले १४–१० को प्रदर्शन गर्दै समग्रमा ५ अंकले अग्रता बनायो । अन्तिम तथा चौथो क्वाटरमा बंगलादेश २७–११ ले अगाडि रहँदै जित सुनिश्चित ग¥यो ।
बंगलादेशको जितमा तन्विर प्रोधानले १८ अंक योगदान गरे । नेपालका लागि भुटान विरुद्ध जित हात पार्दा सर्वाधिक २३ स्कोर गरेका अभिषेक सिंहले बंगलादेश विरुद्ध पनि त्यत्तिनै स्कोर गरे । आशिष बस्नेतले १०, सन्तोष खत्री र चिरञ्जिवी रोकायाले ६–६, सयुन राईले ५, सुरेश विक र आशिष भुजेलले ३–३ तथा सतिश लामाले १ स्कोर गरे ।भुटानले प्रतियोगितामा पहिलो जित आत्मासात् गरेको छ । भुटानले माल्दिभ्सलाई ६३–५४ ले हरायो । भुटानका छिरिङ देउजोरले १७ अंक जोडे ।
सुरुका तीन क्वाटर आफ्नो पक्षमा पारेको भुटानले क्रमशः २०–९, १८–१७ र १३–९ अंक जोड्यो । माल्दिभ्सले अन्तिम क्वाटरमा १९–१२ को अग्रता लिएपनि जित हात पार्न सकेन ।
तेश्रो दिनको खेल सकिदा भारतले २ खेलमा २ जित, बंगलादेशले ३ खेलमा २ जित र १ हार, नेपालले २ खेलमा १–१ जित÷हार तथा भुटानले ३ खेलमा १ जित र २ हार व्यहोरेका छन् । तीन खेल खेलिसकेको माल्दिभ्स सबैमा पराजित छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबार माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ भने नेपालले उपाधिको प्रबल दाबेदार भारतसंग खेल्नेछ ।
यसैबीच आयोजक नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले हारका बावजुद बंगलादेश विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई प्रोत्साहन स्वरुप ४५ हजार नगदबाट पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
‘जित मात्रै सबै कुरा होइन । हामी भन्दा बलियो टोली बंगलादेशसंग हाम्रा खेलाडीले कडा टक्कर दिए । टिमलाई प्रोत्साहन स्वरुप ४५ हजार नगद दिने छौं ।’– अध्यक्ष शेर्पाले भने ।

 

Comment