भारत र बंगलादेशको सहज जित


आ–आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै भारत र बंगलादेशले साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटनको अघिल्लो दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले माल्दिभ्सलाई १५२–१७ को विशाल अन्तरले पराजित ग¥यो । बलियो मानिएको भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी (६ फिट १० इन्च) प्रिन्सपाल सिंहले २६ अंक योगदान गरे । उद्घाटन भने बुधबार हुनेछ ।
भारतले चार क्वाटरमा क्रमशः २६, ४१, ४९ र ३६ अंक जोड्दा माल्दिभ्स सबै क्वाटरमा दोहोरो अंक बटुल्न असफल भयो । माल्दिभ्स पहिलोमा ७, दोश्रो र तेश्रोमा २ तथा चौथोमा ६ अंकमा सीमित भयो ।
त्यसअघि बंगलादेशले भुटानलाई ११७–४३ को फराकिलो अन्तरले हराएको थियो । बंगलादेशका तुतुलकुमार विश्वासले सर्वाधिक ३१ अंक जोडे ।
पहिलो क्वाटरमा ४२–११ ले अगाडि बढेको बंगलादेशले अग्रतालाई अन्तिमसम्म कायम राख्यो । बंगलादेशले दोश्रोमा २४–७, तेश्रोमा ३३–११ र चौथोमा १८–१४ को अग्रता बनाएको थियो ।
दक्षिण एसियाली क्षेत्रको यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा पहिलो हुने टोली मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबलका लागि छनोट हुनेछ ।
प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेशले भारतको सामना गर्नेछ । दोश्रो खेलमा भुटानसंगको प्रतिस्पर्धाबाट नेपालले यात्रा थाल्ने छ ।

 

Comment