जेष्ट खुला ब्याडमिन्टन बुधवारदेखि

जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा दोश्रो जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता – २०७४ भाद्र २१ गते देखि हुने भएको छ ।आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिता आयोजनाका बारेमा जानकारी गराउनुका साथै प्रतियोगिताका सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
बशुन्धारास्थित एकेडेमीको आफ्नै प्राङ्गणमा हुने प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, मिश्रित जोडी, यु–१७ पुरुष र महिला एकल, ३५ बर्ष र ४५ बर्ष माथीको मास्टर गरि कुल ८ विधामा प्रतिस्पर्धा गराईने छ । पुरुष जोडी बाहेक सम्पूर्ण प्रतियोगिता खुल्ला प्रतिस्पर्धा हो । पुरुष जोडीमा भने नेपाल ब्याडमिन्टन संघको ¥याङिकङ्गमा उच्च दस स्थानमा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने आयोजकले बिज्ञप्ती मार्फत जानकारी गराए ।
कुल ७ लाख ८० हजार लागत रहेको प्रतियोगितामा ३ लाख २८ हजार पुरस्कारमा खर्च हुने छ । जसमा पुरुष एकल र जोडी तर्फ प्रथम र द्वितियले नगद २५ हजार र १५ हजार तथा तृतिय स्थान प्राप्त गर्ने अर्थात सेमिफाईनलिष्टले नगद ५–५ हजार प्राप्त गर्ने छन् । यस्तै महिला एकल तर्फ प्रथम, द्वितियले नगद २० हजार र १२ हजार तथा तृतिय हुने दुईले नगद ४–४ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१७ महिला तथा पुरुषमा पहिलो र दोश्रो हुनेले नगद १६ हजार र ८ हजार तथा तेश्रो हुने दुईले नगद ३–३ हजार प्राप्त गर्नेछन् । यस्तै मिश्रित जोडी र मास्टर तर्फका पहिलो, दोश्रो हुनेले २० हजार र १२ हजार तथा तेश्रो हुने दुईले ४–४ हजार प्राप्त गर्ने एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले जानकारी गराए ।
यस्तै प्रतियोगितामा अनुशासित एक खेलाडीलाई काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघले प्रायोजना गरेको १० हजार नगद पुरस्कार प्रदान गरिने छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा २१९ खेलाडीहरुको सहभागिता रहने छ ।

Comment