जुडो टोलीको बिदाइ


हंगेरीको बुढापेस्टमा हुने विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालले टोलीलाई त्रिपुरेश्वरस्थित आफ्नै कार्य कक्षमा बिदाइ गरे ।
अगष्ट २४ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने प्रतियोगिताको महिला ६३ केजीमुनि ओलम्पियन फुपुल्हामु खत्री र ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ८१ केजीमुनि मोहन सुनुवारले भाग लिने छन् । यो च्याम्पियनसिपपछि मोहनले आफ्नो २४ वर्षे खेल यात्रामा पूर्णविराम लगाउदै छन् ।
टिम प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठ रहेका छन् । प्रतियोगिता दौरान अगष्ट २४ र २५ तारिखमा हुने आईजेएफ ओर्डिनरी कोंग्रेसमा जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र महासचिव धर्मकुमार श्रेष्ठ सहभागी हुनेछन् ।
अध्यक्ष वज्राचार्य बुधबारै गइसकेका छन् । महासचिव र कोषाध्यक्ष श्रेष्ठ बिहीबारै जाँदैछन् । प्रशिक्षक बुढाथोकी तथा खेलाडी फुपु र मनीता शुक्रबार जानेछन् भने अर्का खेलाडी मोहन अगष्ट २७ मा जाने कार्यक्रम छ । प्रतियोगितामा विभिन्न १ सय ३६ राष्ट्रका खेलाडीले पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा गर्ने जुडो संघले जनाएको छ ।

Comment