शिवम् सिमेन्ट न्यु डायमन्डको मुख्य प्रायोजक, वार्षिक ८ लाखको सम्झौता


नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमन्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमन्ड एकेडेमी (एनडिए) लाई एक वर्षका लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो । शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यु डायमन्ड स्कुलका प्रिन्सिपल एवं एनडिएका प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे ।
सम्झौता अनुसार शिवम् सिमेन्टले न्यू डायमन्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ । सम्झौतासँगै न्यू डायमन्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउनेछन् । नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यती रकममा सम्झौता भएको यो पहिलो पटक हो ।
सम्झौतापछि प्रशिक्षक राईले भलिलबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए । ‘लामो समयपछि नेपालको नम्बर वान सिमेन्टसंग न्यू डायमन्डले इतिहासमै पहिलो पटक वार्षिक सम्झौता गरेको छ । यसका लागि कम्पनीका सुरेन्द्र गोयललाई धन्यवाद ।’ राइले थपे– ‘हामीलाई अझ राम्रो गर्ने चुनौती थपिएको छ । आजसम्म जस्तो खेलेका छौँ । त्यसमा दोब्बर राम्रो प्रदर्शन गर्ने र नेपाली भलिलबमा नयाँ आयामा थप्ने हाम्रो लक्ष्य छ ।’ वार्षिक प्रायोजन पाएपछि उत्साहित हुँदै राईले भने– ‘अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्न थालिसकेका छौँ । यस्तै आगामी दिनमा कसरी अगाडी बढ्ने र राम्रो प्रदर्शन गर्ने भनेर खेलाडी नानीहरुसँग समेत छलफल गरिरहेका छौँ ।’
यस्तै शिवम् सिमेन्टका सजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भनेजस्तै खेलकुदमा पनि सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेको र न्यू डायमन्डसँग जोडिन पाउदा अझै खुशी लागेको बताए ।
खेलप्रेमिको हैसितयतले हामीले न्यू डायमन्डको खेल हेरिरहेका थियौं । एक जना साथिले हाम्रो नाराजस्तै न्यू डायमन्डका खेलाडीले पनि खेलमा कम्प्रमाइज नगरी लागेको भन्नुभयो र हामी पनि सिरियस भएर सोच्यौँ र खेलमा केही गर्नु छ भने न्यू डायमन्डलाई नै गर्नुपर्छ भनेर सहकार्य गरेका हौँ ।’
देवकोटाले शिवमके जिम्मेवारी उच्च स्तरको सिमेन्ट उत्पादन गर्नु भएजस्तै न्यू डायमन्डको जिम्मेवारी उच्च स्तरको खेल पस्कनु भएको र दुवै पक्षकको जिम्मेवारी मिलेको प्रतिक्रिया दिए ।
अहिलेसम्म व्यापसायिकताकै कमीले गर्दा नेपाली भलिबल अगाडी बढ्न नसकेको उदाहरण दिदै देवकोटाले अब खेलकुदमा पनि व्यावसायीहरुले लगानी गर्न थालेको र व्यावसयीकता भित्रेपछि मात्र खेलकुद राम्रोसँग अगाडी बढ्ने बताए । उनले म्याराथन समेत पहिलो पाइलाबाटै अगाडी बढ्ने उदाहरण दिदै भलिबलमा पनि विस्तारै सहयोग बढाउदै लैजाने बताए ।
सुरुवात नै ठूलो कुरा हो । खेल राम्रो भएपछि अरुले पनि सहयोग गर्दै जानेछन् र यो रकममा पनि बृद्धि हुँदै जानेछ ।’
यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का र महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिलबलको लागि यो सम्झौताले निकै महत्व राख्ने बताए । उपाध्यक्ष खड्काले ६ र ७ वर्ष अगाडी न्यू डायमण्डमा खेल हेर्न जाँदा निकै दुखको अवस्था रहेको स्मरण गर्दै आजको दिनसम्म ल्याइपुय¥ाउन प्रशिक्षक कुमार राईको ठूलो मेहनत रहेको बताए ।
उनले देशलाई चिनाउने माध्यम खेलकुद नै भएको र सामाजिक उत्तरदायित्वका रुपमा व्यावसायीहरुले खेलकुदमा प्रायोजन गरेको बताए । यस्तै नेपाल भलिबल संघका महासचिव चन्दले नेपाली भलिबलमा अब राम्रो दिन सुरु भएको र राम्रो खेल्यो भने प्रायोजक पनि आँफै आउने बताए ।
प्रशिक्षक राईले अब छिटै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रुपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।

Comment