नेपाली युनिभर्सियाड टिमलाई ताईवानमा स्वागत


२९ औं युनिभर्सियाड २०१७ मा सहभागी हुन ताईवान आईपुगेको नेपाली टोलीलाई ताईवानमा हार्दिक स्वागत गरिएको छ । ताईवानमा बसोवास गर्दै आएका नेपालीहरुको संगठन नेपाल ताईवान संघले नेपाली टोलीलाई विमान स्थलमा नै स्वागत गरेको हो । संघका अध्यक्ष राजु गुरुङ्ग सहित अन्य पदाधीकारीहरुले युनिभर्सियाडमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्दै पदक हात पार्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रन खेलाडीहरुलाई हौसला प्रदान गर्नुका साथै शुभकामना व्यक्त गरेका थिए ।
नेपाली टोलीले ताईवानमा शनिबारबाट सुरु हुने युनिभर्सियाड २०१७ मा तेक्वान्दो, एथलेटिक्स, टेनिस, टेबलटेनिस, ब्याडमिन्टन, फेन्सिङ्ग र भारोत्तोलन गरि ७ खेलमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीका सेभ द मिसन एवं विश्व विद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशीले जनाएका छन् । प्रतियोगिताका लागि १८ खेलाडी सहित २८ जनाको टोली शुक्रबार ताईवान आई पुगेको छ ।
विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको युनिभर्सियाड खेलमा नेपाली टोलीले उच्च प्रदर्शन गर्नुका साथै तेक्वान्दो खेलमा पदक प्राप्त गर्ने अपेक्षा गरिएको छ । तेक्वान्दोका प्रशिक्षक नोर्वु लामाले ओलम्पियन निषा राउतले पदक प्राप्त गर्न सक्ने बताए । नेपाल ताईवान संघले नेपाली टोलीलाई खेल पोसाक प्रदान गर्नुका साथै टोलीको सम्मानमा ताईवानमा रहेका नेपालीविच रात्री भोजको आयोजना गरिने समेत अध्यक्ष गुरुङ्गले जानकारी गराए ।
यसैविच विश्वका विभिन्न देशका खेलाडी तथा अफिसियलहरु २९औं युनिभर्सियाडमा प्रतिस्पर्धा गर्न ताईवान आई पुगेका छन् । ताईवानको ताईपेईमा खेल कुम्भ मेलाको रुपमा निकैने रोमाञ्चक वातावरण श्रृजना भएको छ ।

Comment