युनिभर्सियाड टोलीको कारण ताइवानमा रहेका नेपाली उत्साहित


मित्र राष्ट्र चाईनिज ताईपेईमा आयोजना हुने २९ औं समर युनिभर्सियाड २०१७ मा प्रतिस्पर्धा गर्न जाने खेलाडी तथा अफिसियलहरुलाई ताइवानमा बसोबास गर्ने नेपालीहरुको सस्था ताइवान नेपाल एसोसीएसनले स्वागत गर्ने भएको छ । एसोसीएसनले यस अघि पनि नेपालको पर्यटकीय विकासलाई ध्यान दिदै विविध सांस्कृतीक कार्यक्रम गर्दै आएको थियो । यसैगरी, नेपालमा परेको दैवी र प्राकृतीक विपत्तीको समयमा पनि सहयोग गरेको थियो । एसोसीएसनका प्रमुख राजु गुरुङलाई उद्धृत गर्दै नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जर्दान दुंगेलले एसोसीएसनले गरेका काम मध्य काभ्रेको शिक्षा क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।
यसै विच ताइवान जाने टोलीलाई बिश्वविद्यालय खेलकुद संघ नेपालका पदाधिकारीहरुले मंगलबार शुभकामना सहित विदाई गरे । युनिभर्सियाडमा सहभागी हुने नेपाली टोलीलाई संघका अध्यक्ष प्रदीप जोशीले नेतृत्व प्रदान गर्ने छन् । भाद्र ३ देखि १४ गते सम्म आयोजना हुने युनिभर्सियाडमा भारोत्तोलन, ब्याडमिन्टन, फेन्सिङ्ग, एथलेटिक्स, तेक्वान्दो, टेनिस र टेबलटेनिस गरि ७ खेलमा १८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।
तेक्वान्दो तर्फ ४९ केजीमा अस्मिता खड्काले प्रतिस्पर्धा गर्ने छिन् । उनले पुम्से तर्फ पनि प्रतिस्पर्धा गर्ने टिम प्रशिक्षक नोर्वू लामाले जानकारी गराए । यस्तै ५७ केजीमा नम्रता तुलाधर, ७३ केजी माथीमा ओलम्पियन निशा रावल र पुरुष ६८ केजी मुनीमा उमेश राजभण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै फेन्सिङ्गमा संजीप लामा, ईन्दिरा पौडेल र मन्दिरा थापाले प्रतिस्पर्धा गर्ने छन् भने अफिसियलमा अशोक श्रेष्ठ रहेका छन् । एथलेटिक्समा कृष्ण क्षेत्रीले प्रतिस्पर्धा गर्ने छन । भारोत्तोलनमा टिकामाया गुरुङ्ग र मनिषा रानाभाटले प्रतिस्पर्धा गर्ने छन् । भारोत्तोलनको टिम अफिसियलमा अहमद सकिल रहेका छन् । ब्याडमिन्टनमा दीपक बोहरा, अमिता गिरी, शैलेश दाहाल र अफिसियलमा मदन कार्की, टेनिसमा प्रिती बराल र कृपा शर्मा तथा अफिसियलमा हरिभक्त खड्का रहेका छन् । टेबल टेनिसमा करन राई, युशेष चन्द्र राई र भावुक जोशीले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै अन्य अफिसियलहरुमा संघका पदाधिकारीहरु डा. ज्ञानेन्द्र प्रसाद पौड्याल, महासचिव पूर्ण सिंह बोहरा र जनार्जन ढुङ्गेल तथा मेडिया तर्फ दामोदर अर्याल रहेका छन् ।
सो अवसरमा नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले प्रतिस्पर्धा गर्न जाने खेलाडी तथा अफिसियलहरुलाई शुभकामना प्रदान गर्दै राम्रो नतिजा प्राप्त गर्ने विश्वास व्यक्त गरे । टोली बिहिबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comment