रितिज र दीक्षालाई स्वर्ण


रितिज जोशी र दीक्षा तामाङले १२ औं हरेराम जोशी स्मृति पिज्जा कटर खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ सोमबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा रितिजले राजिव चिकन्बञ्जारलाई ११–७, ११–५, ११–९, ९–११ र ११–७ को सेटमा पराजित गरे । महिला सिंगल्स फाइनलमा दीक्षाले दीक्षा दाहाललाई ४–१ सेटमा हराइन् ।
ब्वाइज यु–१६ सिंगल्सको उपाधि आदर्श विद्या मन्दिर (एभीएम) का संयोजक कपालीले जिते । संयोगले फाइनलमा प्रोक्सिमाका रेखन तामाङलाई ११–९, ११–३ र ११–७ को सोझो सेटमा पाखा लगाए । यसअघि सो स्पर्धाको गल्र्समा प्रभातकी मञ्जु सुवाल विजेता बनेकी थिइन् ।
हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा एनआईसी एकेडेमीकी समीक्षा भट्टराई पहिलो भइन् । फाइनलमा समीक्षाले युलेन्सकी शुभश्री श्रेष्ठलाई पाखा लगाइन् ।
त्यस्तै भेट्रानतर्फ सिंगल्सको पुरुष ४० वर्षमाथि विकेन थापा, ५० वर्षमाथि कपुर शर्मा, ६० वर्षमाथि गोबद्र्धन श्रेष्ठ तथा महिलामा इन्दिरा पौडेल पराजुली पहिलो भए ।
विजेतालाई उर्जा मन्त्री मोहनबहादुर शाही, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा २ सय ७५ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

Comment