उपेन र ज्योतिलाई स्वर्ण


ग्यालेक्सी पब्लिक स्कुलका उपेन पराजुली र श्रीदिवा इन्टरनेसनल स्कुलकी ज्योति गुरुङले प्रथम उपत्यकाब्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा उपेन र गल्र्समा ज्योति पहिलो बन्न सफल भए ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको आयोजक नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको रजत महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा उपेनले अरुणीका क्षितिज खनाललाई ८–११, १४–१२, ५–११, १३–११ र ११–८ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा ज्योतिले चिल्ड्रेन गार्डेन एकेडेमीकी मन्जु मग्रातीलाई ११–८, ११–९ र ११–२ को सोझो सेटमा हराइन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–१२ सिंगल्सको ब्वाइजमा चिल्ड्रेनका विवेक थिङ र गल्र्समा चिल्ड्रेनकै सोनी तामाङ पहिलो भए ।
फाइनलमा विवेकले मातृभूमिका उत्सर्ग निरौलालाई १४–१२, ११–५ र ११–१ तथा सोनीले चिल्ड्रेनकै कमला तामाङलाई ११–९, ११–८ र ११–५ को सीधा सेटमा पाखा लगाए ।
एकदिने प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment