अम्बिकाबहादुर स्मृति जुडो सुरु


राष्ट्रिय टिम छनोटका रुपमा समेत रहेको आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । पहिलो दिन पुरुष÷महिलामा समान ४–४ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भयो ।
महिलाको ४८ केजीमुनि फाइनलमा त्रिभूवन आर्मी क्लबकी सुमित्रा राईले आफ्नै क्लबकी सुस्मिता लवतलाई पराजित गरिन् । ७० केजीमुनि १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता आर्मीकी गंगा चौधरीले फाइनलमा सीतु बोर्डिङ स्कुलकी मग्नोलिया श्रेष्ठलाई हराइन् । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले कञ्चनपुरकी सुनीता बोहरालाई फाइनलमा पाखा लगाइन् ।
स्व. अम्बिकाबहादुरका परिवारको प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको महिला ५७ केजीमुनि १२ औं सागकी रजत विजेता आर्मीकी मनीता श्रेष्ठ प्रधान पहिलो भइन् । मनीताले फाइनलमा नेपाल एपीएफ क्लबकी देवीका खड्कालाई पाखा लगाइन् ।
पुरुषको ५५ केजीमुनि बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ पहिलो भए । उनले फाइनलमा ओसिडका हरिराम चौधरीलाई निराश पारे । ६६ केजीमुनि १२ औं सागका कांस्य विजेता पामका इन्द्रबहादुर श्रेष्ठ पहिलो भए । उनले फाइनलमा रसुवाका सुनील नगरकोटीलाई पन्छाए ।
पुरुष ८१ केजीमुनि केन्द्रीय जुडो डोजोका मोहन सुनुवारले शीर्ष स्थान हात पारे । मोहनले निर्णायक भिडन्तमा प्रहरीका मनीष महतोमाथि जित रचे । १०० केजीमुनि प्रहरीका रविन श्रेष्ठले फाइनलमा आर्मीका शिवबहादुर बरामलाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।
पुरुषको ५५ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो र दोश्रो हुने खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् । पुरुष ५५ केजीमुनिको तौलसमूह राष्ट्रिय टिम तयारीमा राखिएको छैन । महिलाको ४४ केजीमुनि तौलसमूह पनि राष्ट्रिय टिम तयारीमा समावेश छैन ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत विभिन्न १६ स्पर्धामा २३ टिमका १ सय ४० खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान ८–८ स्पर्धा समावेश छन् । अन्तिम दिन आइतबार पुरुष÷महिलामा समान ४–४ स्पर्धामा भिडन्त हुनेछ ।

Comment